देशकाे सबैभन्दा सुरक्षित मानिने कारागारबाट कसरी भागिन् सपना तामाङ ?


काठमाडाैं- देशकै सबैभन्दा सुरक्षित मानिने सुन्धारास्थित केन्द्रीय कारागारबाट जन्मकैद सजाय भोगिरहेकी कैदी सपना तामाङ फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

काँडेतार, उच्च पर्खाल र प्रहरी निगरानीसहित कडा सुरक्षा व्यवस्था रहेको कारागारबाट उनी कसरी भाग्न सफल भइन् भन्ने विषय अहिले अनुसन्धानको केन्द्रमा रहेको छ।

२५ वर्षीया सपना तामाङ बालिका हत्या, अपहरण र डाँका–चोरी मुद्दामा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेकी कैदी हुन्। उनी यसअघि पनि जेलबाट भागिसकेकी थिइन्। दोस्रो पटक पनि फरार हुन सफल भएपछि कारागारभित्रको सुरक्षा संयन्त्र र प्रहरी समन्वयमाथि गम्भीर प्रश्न उठेको हो।

शनिबार मध्यरात करिब १:३० बजे उनी कारागारको पछाडिपट्टिको पर्खाल नाघेर फरार भएको सीसीटीभी फुटेजमा देखिएको कारागार प्रशासनले जनाएको छ। जेलर कृष्ण चापागाईंका अनुसार घटनाले सामान्य लापरबाहीभन्दा पनि योजनाबद्ध तयारीको संकेत गरेको देखिन्छ।

सपना यसअघि २०८२ भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा जेल प्रशासनले कैदीलाई खुला स्थानमा निकालेका बेला पनि फरार भएकी थिइन्। त्यसपछि दुई महिनापछि रसुवा प्रहरीले उनलाई धुन्चेबाट पक्राउ गरेको थियो।

उनी रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको हत्या अभियोगमा दोषी ठहर भएकी हुन्। प्रहरीका अनुसार २०७७ सालमा सुनको टप लुटेपछिको घटना सार्वजनिक हुने डरले उनले बालिकाको हत्या गरेकी थिइन्।

रसुवा जिल्ला अदालतले उनलाई अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँका–चोरी मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

प्रहरी अनुसन्धान अनुसार सपना किशोर अवस्थादेखि नै चोरी तथा डकैतीमा संलग्न रहेको देखिएको छ। पटक–पटक पक्राउ परे पनि सुधारको अवसर दिएर छाड्ने प्रवृत्तिले अन्ततः उनलाई गम्भीर अपराधसम्म पुर्‍याएको प्रहरी अधिकारीहरूको भनाइ छ।

सुन्धारा कारागारको सुरक्षा जिम्मा नेपाल प्रहरीका डीएसपी शैलेस न्यौपानेको नेतृत्वमा रहेको थियो। तर, कैदी फरार हुँदासमेत सुरक्षाकर्मी बेखबर देखिएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयले आन्तरिक अनुसन्धान सुरु गरेको छ।

एसएसपी प्रवीण धितालका अनुसार सपना कसरी फरार भइन् र त्यसमा सुरक्षा कमजोरी थियो वा थिएन भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया