फेरि बढ्यो अण्डाको भाउ, प्रति गोटा २५ रुपैयाँ पुग्यो


काठमाडौं – अण्डाको मूल्य फेरि बढाइएको छ । उत्पादन लागत वृद्धि भएको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो ।

संघका अनुसार गत साताको तुलनामा अण्डाको मूल्य प्रति क्रेट ५० रुपैयाँसम्म बढाइएको छ । नयाँ मूल्यअनुसार अब उपभोक्ताले एउटा अण्डाका लागि २५ रुपैयाँ तिर्नुपर्नेछ ।

संघले तोकेको दरअनुसार एक्सएल अण्डाको मूल्य प्रति क्रेट ३० रुपैयाँ बढेर ५३० रुपैयाँ पुगेको छ । त्यस्तै ठूलो अण्डा पनि ३० रुपैयाँ बढेर प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ ।

मिडियम अण्डाको मूल्य सबैभन्दा धेरै बढेको छ । यस वर्गको अण्डा प्रति क्रेट ५० रुपैयाँले बढेर ४८५ रुपैयाँ पुगेको छ । सानो अण्डाको मूल्य भने प्रति क्रेट ३८५ रुपैयाँ कायम गरिएको छ ।

यसअघि एक्सएल अण्डा प्रति क्रेट ५०० रुपैयाँ, ठूलो अण्डा ४८५ रुपैयाँ, मिडियम अण्डा ४३५ रुपैयाँ तथा सानो अण्डा ३६० रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

संघका अनुसार पछिल्लो दुई सातामै अण्डाको मूल्य ८५ रुपैयाँसम्म बढिसकेको छ ।

उत्पादन लागत बढ्दै गएको र उत्पादन घटेको कारण मूल्य समायोजन गर्नुपरेको संघले जनाएको छ । हाल नेपालमा दैनिक ३५ लाख गोटाभन्दा कम अण्डा उत्पादन भइरहेको बताइएको छ ।

ढुवानी, प्याकेजिङ तथा अन्य व्यवस्थापन खर्च बढ्दै जाँदा मूल्य वृद्धि अपरिहार्य भएको संघको भनाइ छ ।

प्रतिक्रिया