
बस्ती हटाउने सरकारी अभियानविरुद्ध भूमिहीनको सडक आन्दोलन
रूपन्देही- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले बुटवलमा वृहत प्रदर्शन सुरु गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा राजमार्ग चौराहाबाट प्रदर्शन सुरु भएको हो । प्रदर्शन ट्राफिक चोक पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले जानकारी दिए ।
उनले सरकारले गरिब तथा भूमिहीन नागरिकका घरटहरामा कुनै वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर उठीबास लगाउने काम गरिरहेको आरोप लगाए ।
संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकका अनुसार सरकारले भरपर्दो पुनर्वास योजना बिना बस्ती हटाउने अभियान सञ्चालन गर्दा देशभरका १२ लाखभन्दा बढी परिवार प्रभावित भएका छन् । यसबाट झन्डै ५० लाख नागरिक प्रत्यक्ष असरमा परेको उनको दाबी छ ।
संघर्ष समितिले जेठ ४ गते बुटवलमै राष्ट्रिय सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलनमा विभिन्न जिल्लाका प्रतिनिधि, विज्ञ तथा अधिकारकर्मीको सहभागितामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्याबारे छलफल गरिने बताइएको छ ।



कागजपत्र |
