सिरहामा ४० लाख बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा


सिरहा-  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ । बरामद सामानको मूल्य करिब ४० लाख रुपैयाँ बराबर रहेको जनाइएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको विशेष टोलीले नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा शनिबार राति करिब ८:४५ बजे ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा खटिएको ३५ सदस्यीय टोलीले नेपालबाट भारततर्फ तस्करी गरिँदै गरेको स १ ख ५३५ नम्बरको ट्रक रोकेर खानतलासी गरेको थियो ।

जाँचका क्रममा ट्रकभित्र विभिन्न किसिमका कस्मेटिक सामग्री, टुथपेस्ट (मन्जन), ओखर लगायतका सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । ती सामग्रीको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको बताइएको छ ।

तस्करीमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–५ का ५० वर्षीय राजेशकुमार यादव र ३५ वर्षीय आनन्द यादव रहेका छन् ।

बरामद सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया