यस्तो छ जनैपूर्णिमा र ऋषितर्पणीको धार्मिक महत्व


श्रावण शुक्लपक्ष पूर्णिमा तिथी उप्रान्त भाद्र कृष्णपक्ष प्रतिपदा तिथी आरम्भ हुने भएकोले यस दिन मनाइने रक्षाबन्धनलाई जनैपूर्णिमा र यो पर्वलाई ऋषितर्पणी पनि भनिन्छ।

ऋषिहरुले श्रावण महिनामा स्वाध्याय र यज्ञको पूर्णाहूति यसै तिथिमागर्ने गरेको हुनाले ऋषितर्पणी भनिएको हो।यो दिन सप्तऋषिहरु कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, ज्यमदग्नी र वशिष्ठ आदिको, पूजा, अर्चनागर्नुको साथै उहाँहरुलाई तर्पण पनि दिनु धार्मिक मान्यता रहेको छ। यो दिन जनै फेरेर रक्षावन्धन बाँध्नु पर्दछ। यो जनैपूर्णिमा सनातनी हिन्दू धर्मलम्वीहरुले बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको मोठको माटोलगाई नुहाएर शुद्धभई वैदिक विधिपूवर्क मन्त्रिएको नयाँ जनै –यज्ञोपवित्र फेरेर जनैपूर्णिमा मनाइन्छ ।

हिन्दू दर्शन अनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ ।जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छन् ।यस पर्वलाई ऋषि तर्पणी पनि भनिन्छ । मूलतः हामीले धारण गर्ने जनैको आयु सरदर चार महिनाको हुन्छ । हाम्रा शास्त्र अनुसार ‘ सूतके मृतके चैव गते मासचतुष्टये ।नव यज्ञोपवीतानि धृत्वा जीर्णानि संत्यजेत् ।’ अर्थात् सूतक र मृतक आशौच वा चार महिना बितेको कारण तिम्रो मिति गुज्रियो अतः म अब नयॉ यज्ञोपवीत धारणा गर्दछु ।

हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ । धार्मिक शास्त्रअनुसार, मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ ।शरीरमा रहेका सूक्ष्म बिन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन् । यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ ।शरीरलाई ऊर्जाशक्ति र रक्तसञ्चारलाई निरन्तरता दिन व्रतबन्धका दिन जनै लगाउन थालिएको हो ।

धर्मशास्त्र अनुसार, जनै लगाउँदा आयु, तेज र बल प्राप्त हुने मान्यता छ ।यसको अर्को काम मुटु, कलेजो, फोक्सो र शरीरका सूक्ष्म अंगलाई क्रियाशील बनाउने पनि रहेको छ । नकारात्मक भावना र ऊर्जालाई निस्तेज बनाउने जनै प्रयोग गर्दा मन, बुद्धि, चित्त स्वस्थ रहने विश्वास गरिन्छ । नयॉ जनै पहिरिंदा यो श्लोक पढ्नु पर्दछ —‘ यज्ञो–पवीतं परमम् पवित्रम् , प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्रम् प्रतिमुञ्च शुभ्रम् , यज्ञोपवीतं बलमस्तु तेजः ।’ अर्थात् जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो , यो सृष्टिकर्तासँगै जन्मिएकोहुँदा यसलाई धारण गर्नाले आयु , बुध्दि , तेज र बलको श्रीवृध्दि हुन्छ। त्यसै गरी ब्रह्मचर्याश्रम , गृहस्थाश्रम र वानप्रस्थ आश्रमको बेला यसको धारणा अनिवार्य हुन्छ भनेर जनाउ दिन पनि तीन तीन डोरा बनाइएको हो ।

जनैमा पॉचवटा ग्रन्थी वा शिखा बनाइएको हुन्छ।ती गॉठाहरुले पञ्च महायज्ञलाई लक्ष्य गरेका हुन् भने हामी प्राणीहरुको रचनामा पृथ्वी , पानी , तेज , हावा र आकाशका पञ्चतत्वलाईसङ्केत गरेको प्रतीत पनि हुन्छ । देवऋण , पितृऋण , ऋषिऋण र पॉच यज्ञलाई हृदयतः यज्ञोपवीत्र धारीले स्वीकार गर्दछन् । मान्छेको शरीरमा मुटु बायॉ भागमा भएकोहुँदा यो ब्रह्मसूत्र पनि बॉया कॉधपटिबाट धारणगरी दॉयापटि झारिन्छ ।

यसरी हाम्रो केन्द्र भागलाई सन्तुलित र सुरक्षित गराउन यो संयम–सूत्रलाई यसरी लगाउने प्रचलन गरेको हो। शौचको समय जनैलाई दक्षिणपटिको कानमा सिउरिनु पर्दछ । यो कुरालाई वैखानस धर्म प्रश्न, बौधायन गृहसूत्र र याज्ञवल्क्यस्मृतिले आ–आफ्ना प्रकरणमा बताएका छन् । कानमा सिउरिनु पर्ने कुरालाई मनु यसरी स्पस्ट पार्दछन् ‘ ऊध्र्वं नाभेर्मेध्यतरः पुरुषः परिकीर्तितः ’ अर्थात् पुरुष नाभिभन्दा माथि पवित्र हुन्छ ।

नाभिभन्दा तल्लो भाग मलमूत्रधारक अङ्ग भएकोले यो अपवित्र हुन गएकैले जनैको शुध्दता जोगाउन यो उपाय गरिएको हो । अनि अर्को कुरा कान अत्यन्त पवित्र ज्ञानको भण्डार पनि हो । हाम्रो शरीर पार्थिव इन्द्रिय नाक हो भने जलीय इन्द्रिय जिब्रो , तेजस इन्द्रिय ऑखा वायव्य इन्द्रिय छाला र आकाशीय इन्द्रिय कान हो ।अरु इन्द्रियहरु अपवित्र हुन्छन् तर आकाशीय इन्द्रिय कान कहिल्यै अशुध्द हु‘दैन ।त्यसले जनै मल ,मुत्रगर्दा कानमा जनै हाल्नुपर्दछ।

जनै पौराणिक मान्यताअनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट लखेटिएका देवताहरूलाई इन्द्रका गुरु बृहस्पतीद्वारा रक्षाबन्धन तयार गरी जोगाएको र वामन अवतार विष्णुद्वारा दैत्यराज बलिलाई वचनबद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जनै पूर्णिमाको महत्व छ । जनै पूर्णिमामा बाँधिएको डोरी गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ । यो दिन भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्ध ग्रन्ध ‘ललितविस्तार’ मा उल्लेख गरिएको पाइन्छ ।

‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।

तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल ।’

यी मन्त्रहरु जप्दै रक्षाशुत्र लगाउने र बाँध्ने काम गरिन्छ । अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धन तपाईंको हातमा पनि बाँधिदिएको छु , तपाईंको रक्षा होस्। जुन रक्षा सूत्रले बाँधेर शुक्राचार्यले महाबलि राजाको रक्षा गरेका थिए, उही सूत्र ‘धागोले’ म तिमीलाई बाँधेर तिम्रो रक्षाको कामना गर्छु ।

रक्षाबन्धनको सुरुवात कहाँ र कहिलेबाट भयो यकिन प्रमाण भेटिँदैन । अड्कल लगाउँदा यसको जन्म पुरुषको रक्षा भावाले भएको हो भन्न सकिछ । ऋग्वेद (दशम मंडल) का अनुसार शची (इन्द्राणी) ले देवगुरु बृहस्पतिको सल्लाअनुसार ईन्द्रको हातमा बाँधेर लडाइँमा गएकाले विजय प्राप्त गरेको भनाइ पाइन्छ । भविष्य पुराणका अनुसार ईन्द्र असुरसँग पराजित भएर स्वर्ग छोडेर भाग्नुपर्ने स्थिति आयो। त्यस बखत उनी आत्तिएर त्रिदेवका शरण पुगे । त्रिदेवले मद्धतगर्न नसक्ने बताएको ग्रन्थमा प्रष्ट लेखिएको छ।

प्रतिक्रिया