कांग्रेसले बुझ्नैपर्ने सत्यः महामन्त्री पद खेलौना होइन, देश जोगाउने मोर्चा हो


काठमाडौं– आज देश संकटमा छ। यहि वास्तविकता हो। लोकतान्त्रिक सगठनहरू कमजोर हुँदैछन्। र, नेपाललाई ‘सेफ ल्यान्डिङ’ गराउने एउटा विश्वसनीय राजनीतिक केन्द्र खोजिँदैछ।

यो बेला नेपाली कांग्रेसका अहिलेका महामन्त्रीहरू कुन मोर्चामा छन् ? देशको मुद्दा बोक्ने मोर्चामा कि पार्टीभित्र कुर्सी समात्ने अखडामा ? सत्य कठोर छ। तर भन्नैपर्छ, अहिलेका महामन्त्रीहरूले आफ्नो मार्ग गुमाउन थालेका छन्। महामन्त्री भनेको पार्टीको कर्मचारी होइन, राष्ट्रिय संकटको ‘कमाण्डर’ हो। कांग्रेसको इतिहासले भन्छ, महामन्त्रीले पार्टी मात्र चलाउँदैन। देश चलाउने निकास बनाउँछ ।

गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, कृष्ण सिटौला– यी सबैले महामन्त्री हुँदा पार्टीभित्र गुट फुटाउने होइन, राष्ट्रलाई स्थिरता दिने काम गरे। त्यतिबेला उनीहरूको पहिलो प्राथमिकता के थियो ? राष्ट्रको दिशानिर्देशन लोकतान्त्रिक शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने, विपद् र द्वन्द्वलाई समाधानमा रूपान्तरण गर्ने, आफ्नो पदभन्दा देशको स्थिरता ठूलो हो भन्ने प्रमाण दिनु। यही हो ऐतिहासिक कांग्रेसका महामन्त्रीको पहिचान।

पार्टी सभापतिबाट आशा र भरोसा छैन। अन्य पदाधिकारीमा त्यो हिम्मत र साहस भेटिँदैन। तर, महामन्त्री पद नै त्यो पद हो जसले पार्टीको मेरुदण्डलाई बलियो बनाउँदै सकंटमा परेको देशलाई कमाण्ड गर्ने हिम्मत राख्छ। तर, अहिलेका महामन्त्रीको दिशा उल्टो छ। प्राथमिकतामा देशले कसरी निकास पाउँछ भन्ने हुनुपर्ने हो। तर व्यवहारमा देखिन्छ-शेरबहादुरलाई कसरी खेदाउने ? पार्टी कसरी कब्जा गर्ने ? कमिटीमा आफ्नो लाइन कसरी बलियो बनाउने ? युवाको असन्तोषलाई कसरी आफ्नो फाइदाका लागि प्रयोग गर्ने ?

यदि यही हो प्राथमिकता भने यो कांग्रेस होइन, कांग्रेसको नाममा व्यक्तिगत महत्वाकांक्षाको सस्तो मेलाम हो। देश संकटमा हुँदा पार्टीभित्र कुर्सीको गन्धतिर दौडिने नेतृत्वलाई इतिहासले कहिल्यै माफ गर्दैन। अहिलेको घडीमा महामन्त्रीको कर्तव्य एउटै छ– पार्टीको काँधमा रहेको राष्ट्रिय जिम्मेवारी उठाउने, देशको मुद्दा बोक्ने, लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याउने र कांग्रेसलाई संकट–निकासका दिशामा हिँडाउने।

अहिले कुर्सीको खेल खेल्ने होइन। अहिले युवालाई झुक्याउन नारामात्र लगाउने होइन। अहिले विरोध तथा कब्जा रणनीति चलाउने होइन। अहिले देश बचाउनुपर्ने हो। आजको दिनमा महामन्त्रीको भूमिका राष्टियताको एजेन्डालाई एक नम्बरमा बोक्नुपर्छ, पार्टीको आन्तरिक गुट होइन। अन्य लोकतान्त्रिक दलहरूसँग सहकार्य गरेर संसद्, संविधान, शासन संरचना सुरक्षित गर्ने भूमिका निभाउदै ईतिहासका महामन्त्रीभन्दा आफूलाई अझ शसक्त नेतृत्वदाय देखाउनु सक्नुपर्छ ।

युवाहरू जागेका छन्। उनीहरूको आवाजलाई व्यक्तिगत एड्भान्समेन्टको सामग्री होइन, संगठन सुधारको शक्ति बनाउनु पर्छ। पार्टीलाई बिथोल्ने होइन, दिशा दिने काम गर्नुपर्छ। महामन्त्री पद भनेको भित्तामा टाँसिने नाम होइन। ‘देश संकटमा परेका बेला नेता अग्रभागमा उभिन्छ’ भन्ने नजिर स्थापित गर्न सक्नुपर्छ । तर, आजका महामन्त्रीले कुन बाटो रोज्छन् ? त्यहि कुराले कांग्रेसको भविष्यसँगै महामन्त्रीद्धयको ईतिहास लेखिन्छ।

यदि आजका महामन्त्रीहरू इतिहासका महामन्त्रीजस्तै राष्ट्रिय मुद्दा उठाउँदै, देशलाई स्थिर बनाउँदै लोकतन्त्र बचाउँदै अघि बढ्छन् भने कांग्रेस पुनः नेतृत्वको केन्द्र बन्छ। तर, यदि उनीहरू अहिले देखिंदै आएको जस्तो पदको दलदलमा फसे, गुटको खेलमा रमाए र राष्ट्रका मुद्दा छायाँमा पारे भने, पुस्ताले उनीहरूलाई ‘महामन्त्री’ नभई पार्टी बिगार्ने अन्तिम पुस्ता भनेर चिन्नेछन्। कांग्रेसले बुझ्नैपर्ने कटुसत्य के हो भने– महामन्त्री पद खेल्ने ठाउँ होइन, देश जोगाउने मोर्चा हो।

प्रतिक्रिया