आन्द्राको क्यान्सरबाट वडाध्यक्षको निधन


काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ। उनी ५५ वर्षका थिए।

लिम्बू लामो समयदेखि क्यान्सर रोगबाट पीडित भई उपचार गराइरहेका थिए। साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईका अनुसार उनी केही महिनादेखि भारतमा उपचाररत थिए।

पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि धनकुटाको खुवाफोक ल्याउने तयारी भइरहेको छ।

गाउँपालिकाले वडाध्यक्ष लिम्बूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरेको अध्यक्ष राईले जानकारी दिए।

सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय लिम्बू स्थानीय तहको विकास, सेवा प्रवाह र समुदायका विभिन्न समस्याको समाधानमा निरन्तर सक्रिय रहँदै आएका थिए।

उनको निधनले साँगुरीगढी गाउँपालिका–३ मात्र होइन, समग्र गाउँपालिकालाई नै अपूरणीय क्षति पुगेको अध्यक्ष राईले बताएका छन्।

प्रतिक्रिया