रौतहट बमकाण्डका जीवित साक्षीको पीडा : “बाँचें, तर जिन्दगी सकियो”


काठमाडौं- “आँखा खोलेँ, आमाले भनिन् — यो सीतामढी हो, अस्पताल लाने बाटोमा छौं। चिन्ता नगर, सबै ठीक हुन्छ। तर केही पनि ठीक भएन।”
यो बयान हो  रौतहटको बहुचर्चित बमकाण्डमा ज्यान बचेका भारत सीतामढीका गौरीशंकर राम चमारको।

२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो दिन, रौतहटको राजपुर फरहदवास्थित एक इँटाभट्टामा विस्फोट भएको थियो। त्यस इँटाभट्टामा नेपाली कांग्रेसका तत्कालीन नेता मोहम्मद अफ्ताब आलममाथि बम बनाउने र त्यस क्रममा घाइते भएकाहरूलाई जिउँदै जलाएको आरोप लागेको थियो।

घटनामा गम्भीर घाइते भएका गौरीशंकर अहिले पनि न्यायका लागि लडिरहेका छन्। उनले भने, “त्यस दिन अफ्ताब आलमले पैसा लिन बोलाएको थियो। इँटाभट्टामा पुगेपछि घरको ढोकाको छेउमै पुग्दा अचानक बम विस्फोट भयो। मेरो अनुहार, कान, छाती सबै जलेको थियो। बाँच्न त बाँचें, तर जिन्दगी सकियो।”

उनका अनुसार, गाउँलेहरूले उनलाई उद्धार गरेर भारतको सीतामढीसम्म पुर्‍याए। तीन महिना अस्पतालमा उपचार गर्दा साढे ३ लाख भारतीय रुपैयाँ खर्च भयो, तर अफ्ताबले एकपटक पनि सोधखोज नगरेको पीडा उनको छ।

“अफ्ताबको मान्छे आएर मेरी आमालाई धम्की दिए, तेरो छोरा मर्छ। मलाई मार्छ जस्तो लाग्छ अहिले पनि,” गौरीशंकरले भने।

उच्च अदालत वीरगन्ज इजलासले पर्याप्त प्रमाण नभएको भन्दै अफ्ताब आलमलाई सफाइ दिएको छ। तर गौरीशंकर न्याय माग्दै छन् — “त्यस्तो मान्छेलाई छोड्नु भएन। उसले बम बनायो, मान्छे जले, म बाँचें तर जीवन नास भयो।”

प्रतिक्रिया