
साइपाल बेसक्याम्प जाँदै गरेको मेयर हमालको टोलीलाई हुम्लीहरूले गरे अवरोध
काठमाडाैं- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत बाजुरा हुँदै साइपाल बेसक्याम्प जान लागेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको टोली बाजुरामा अवरोधमा परेको छ ।
वैशाख ३१ गते धनगढीबाट अछामको रामारोशन हुँदै साइपाल बेसक्याम्पतर्फ प्रस्थान गरेको टोलीलाई बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा स्थानीयले रोक्दै फर्काएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुरासँग समन्वय गरेर टोली उक्त क्षेत्रमा पुगेको भए पनि हुम्लाको खार्पुनाथ–२ थली र सर्केगाड–३ का स्थानीयले रानीसैन क्षेत्र हुम्ला जिल्लामा पर्ने दाबी गर्दै सुदूरपश्चिमका कसैलाई पनि त्यहाँ प्रवेश गर्न नदिने बताएका थिए ।
स्थानीयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले हिमाली गाउँपालिका–३ लाम्पाटामा प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि विवाद चर्किएको हो । प्रहरी चौकी निर्माणको विरोध गर्दै आएका हुम्लाका स्थानीयले उक्त क्षेत्रमा चौकी स्थापना गर्न नदिने अडान राखेका छन् ।
विवादका क्रममा हुम्लाबाट आएका करिब ३ सय जनाको समूहले वडा सदस्य पेमा गारा गुरुङसहित केही स्थानीयमाथि कुटपिट गरेको आरोप लागेको छ । स्थानीयका अनुसार वडा सदस्यको घरमै पसेर उनीहरूमाथि निर्घात कुटपिट गरिएको थियो ।
यही तनावपूर्ण अवस्थाबीच मेयर हमालको टोली रानीसैनतर्फ जान पुगेको थियो । टोली त्यहाँ पुग्ने जानकारी पाएपछि लाम्पाटामा भेला भएका स्थानीयले ‘सुदूरपश्चिमका कुनै पनि व्यक्तिलाई रानीसैन जान नदिने’ भन्दै अवरोध गरेका थिए ।
मेयर हमालले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आफूहरू उक्त स्थानमा पुगे पनि त्यहाँको संवेदनशील अवस्थाबारे प्रशासनले पूर्वजानकारी नदिएको गुनासो गरे ।
उनले बाजुरामा अवरोध भए पनि आफ्नो टोली सुरक्षित रहेको जानकारी दिँदै सुरक्षाको कारण रानीसैन जान लागेका धनगढीस्थित वाल्मिकी विद्यालयका कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई समेत आफूसँगै फर्काएको बताए ।



कागजपत्र |
