
बैंककबाट तस्करी गरिएको ६ किलो सेतो हेरोइन काठमाडौंमा बरामद, एकजना पक्राउ
काठमाडौं- लागूऔषध नियन्त्रण ब्यूरोले बैंककबाट हवाईमार्ग हुँदै काठमाडौं ल्याइएको ६ किलो ५ ग्राम सेतो हेरोइन बरामद गरेको छ। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष जाँचका क्रममा उक्त हेरोइन फेला परेको ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।
प्रहरीका अनुसार, थाई एयरवेजको उडानमार्फत काठमाडौं आएका ६५ वर्षीय भारतीय नागरिक राकेश वाहबको लगेज जाँच गर्दा उक्त लागूऔषध भेटिएको हो।
यो घटनासँगै बैंकक–काठमाडौं हवाईमार्ग लागूऔषध तस्करीको नयाँ मार्गको रूपमा प्रयोग भइरहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
बरामद हेरोइन भारत पठाउने उद्देश्यले नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।



कागजपत्र |
