
अब घरमै बसेर प्रहरीमा उजुरी दिन सकिने
काठमाडौं- अबदेखि घरमै बसेर प्रहरी कार्यालयमा उजुरी दिन सकिने भएको छ ।
नेपाल प्रहरीले मंगलबारदेखि गुनासो तथा उजुरीहरू अनलाइन माध्यमबाटै दर्ता गर्न सकिने व्यवस्था सुरु गरेको हो । नयाँ प्रणालीअन्तर्गत अब कुनै पनि घटना वा अपराध भएमा उजुरी दिन प्रहरी कार्यालयसम्म धाउन नपर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालयले ‘नेपाल पुलिस एप’ सार्वजनिक गर्दै नागरिकलाई डिजिटल माध्यमबाट उजुरी दिने सुविधा उपलब्ध गराएको जनाएको छ ।
अनलाइन उजुरी दिनका लागि नागरिकले सर्वप्रथम नेपाल प्रहरीको आधिकारिक मोबाइल एप डाउनलोड गरी साइन–अप गर्नुपर्ने हुन्छ । त्यसपछि एपभित्र रहेको ‘रजिस्टर कम्प्लेन’ विकल्पमा प्रवेश गरी विभिन्न शीर्षकमा उजुरी दर्ता गर्न सकिनेछ ।
उजुरीसँगै घटनासम्बन्धी प्रमाणहरू जस्तै फोटो, अडिओ तथा भिडिओसमेत अपलोड गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
