
ललितपुरमा नक्कली ब्राण्डेड मदिराकाे कारखाना
काठमाडौं- ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित एक घरमा अवैध रूपमा नक्कली ब्राण्डेड मदिरा उत्पादन भइरहेको सूचनापछि सशस्त्र प्रहरीले छापा मारेको छ ।
सशस्त्र प्रहरी बल नेपाल इण्टेलिजेन्स ब्यूरोको विशेष सूचनाका आधारमा गरिएको छापामार कारबाहीका क्रममा रेड लेबल, ब्ल्याक लेबल लगायत महँगा ब्राण्डका मदिरा नक्कली रूपमा उत्पादन भइरहेको अवस्थामा बरामद गरिएको हो ।
उक्त अवैध गतिविधिमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रामेछापका मनोज खत्री, विनोद तामाङ, विवेक तामाङ तथा सिन्धुपाल्चोकका छिदेन निमा तामाङ रहेका छन् ।
प्रहरीले घटनास्थलबाट नक्कली मदिरा उत्पादनमा प्रयोग हुने केमिकल, उपकरण, राजस्व स्टिकर तथा होलोग्रामसमेत बरामद गरेको जनाएको छ । बरामद मदिराको परिमाण भने यकिन हुन बाँकी रहेको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई बरामद सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले जानकारी दिएका छन् ।



कागजपत्र |
