इपिसेन्टरको कथा : जहाँ घरहरू फर्किए, तर चिनारी हरायो


काठमाडाैं- १२ वैशाख २०७२। बिहानको ११ः५६। त्यस दिन एकै झट्कामा गोरखाको यो पहाडी गाउँ भूमरीझैं निलियो। ढुंगाका घरहरू धुलो भए, मान्छेका सपना भताभुंग। इपिसेन्टर भनिने बारपाकको मौलिक ढोका त्यसै दिन ढलेको थियो।

आज त्यो त्रासदीको १० वर्ष पूरा भइसकेको छ।

अबको बारपाक फेरिएको छ- ढुंगाको ठाउँमा सिमेण्टको घर छन्, काठका तन्नाहरूको ठाउँमा टिनका छाना। पुनःनिर्माण सकिएको भनिए पनि, पुनःसिर्जना भने रोकिएको छ।

‘घर त फेरि बने तर हाम्रो चिनारी हरायो,’ स्थानीय सुशीला घले भन्छिन्। भूकम्पअघि बारपाक १ हजार ३ सयभन्दा बढी परम्परागत घरहरूको गाउँ थियो– ढुंगा, काठ र सुन्दर अनुशासनमा सिँगारिएका आँगनहरू। टाढाबाट हेर्दा एउटै रंगको फूलझैँ देखिन्थ्यो बारपाक। अहिले त्यही ठाउँमा करिब १ हजार ४५० वटा घरहरू बनेका छन्, तर ती सबै ‘नयाँ’ छन्।

स्थानीयहरूका मनमा अझै पीडाको रेखा ताजा छ। ‘हामी पुरानै घर बनाउन चाहन्थ्यौँ,’ सुशीला भन्छिन्, ‘तर मन डरायो। ढुंगाका घर फेरि भत्किए भने?’

यो डर नै अहिलेको बारपाकको मुहार हो– सुरक्षित तर मौलिकताविहीन। बारपाक केवल भूकम्पकै इपिसेन्टर होइन, यो वीरताको थलो पनि हो। दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाएका गजे घलेको गाउँ, गोर्खाली परम्पराको एउटा नमुना। यही वीरगाथा, यही संस्कृति अहिले हराउँदै छ।

‘बारपाक त बारपाक नै हो,’ वडाध्यक्ष घनबहादुर घले भन्छन्, ‘तर, अब त्यो पुरानो बारपाक छैन– नयाँ, आधुनिक र केही हदसम्म अपरिचित बारपाक बनेको छ ।’

भूकम्पले पुरानो बस्ती लत्याए पनि बारपाक उठेको छ। गाउँभित्रै ‘बुद्ध पार्क’, ‘भ्यू टावर’, र स्मृति उद्यान जस्ता परियोजनाले बारपाकलाई पर्यटनको नयाँ नक्सामा राख्ने प्रयास भएको छ।

ताक्लेनान डाँडामा बनेको बुद्ध पार्कमा पाँच फिट अग्लो मूर्ति राखिएको छ, जसले शान्तिको सन्देश दिन्छ। स्मृति उद्यान बनिरहेको छ-१५ करोडको लागतमा।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट भन्छन्, ‘अब पर्यटकहरू इपिसेन्टर हेर्नमात्र होइन, बारपाकलाई महसुस गर्न आउँछन्।’ बारपाकको सिङ्गो रूप फेरिँदा पनि केही दलित परिवारहरू अझै अस्थायी टहरामै छन्। ‘जग्गा छैन । साबिकको बस्ती जोखिममा छ, नयाँ ठाउँमा बस्न पाएका छैनन्,’ वडासदस्य लक्ष्मी विक भन्छिन् ।

यो दृश्यले देखाउँछ– पुनःनिर्माण भौतिक मात्र होइन, सामाजिक रूपमा पनि अधुरो छ। बारपाक उठेको छ– भत्केको चिहानमाथि नयाँ सपना बनिरहेका छन्। तर, ती सपनामा पुरानो बारपाकको गन्ध छैन।

पुनःनिर्माण सकिएको देखिए पनि-सिर्जनात्मक पुनरावलोकन अझै बाँकी छ।

प्रतिक्रिया