

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको महाधिवेशन सम्पन्न
कर्माचार्यको अध्यक्षतामा ५६ सदस्यीय नयाँ कार्य समिति

काठमाडौं – नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य एवं सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागका प्रमुख शिवप्रसाद हुमागाईंको संयोजकत्वमा सम्पन्न महाधिवेशनले योगेन्द्रनाथ कर्माचार्यको अध्यक्षतामा ५६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको जनाउँदै संयोजक हुमागाईंले महाधिवेशनमा उठेका विषयहरुका बारेमा पार्टीले सम्बोधन गर्नुपर्ने जनाउँदै त्यसका लागि आफूले भविष्यमा संघकै प्रतिनिधिको हैसियतमा सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसका साथै उनले नयाँ कार्यसमिति चयन लोकतान्त्रिक प्रक्रियाबाट गरिएकोले यस कार्यसमितिले संघलाई नयाँ उचाई दिलाउनका लागि अहम् भूमिका निर्वाह गर्नुपर्ने जनाए ।
हुमागाईंले व्यवसायीको समस्या समाधानका लागि सांगठनिक रुपमै पहल गर्न सहज हुने समेत जनाउँदै नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उद्घाटन गरेको उक्त महाधिवेशन दुई दिनसम्म चलेको थियो । उक्त अवसरमा खड्काले व्यवसायीको समस्या समाधानका लागि नेपाली कांग्रेसले लाग्ने जनाउँदै भने, ‘‘यातायात क्षेत्रको लगानी देशको विकाससँग जोडिएको छ, यसको संरक्षण गर्ने जिम्मा सरकारको यो, तीनै तहसँग जोडिएको यातायात क्षेत्रको मुद्दालाई पार्टीले समन्वय गरेर समाधान निकाल्छ ।’
उनले मुलुकको राजनीतिक अस्थिरता चिर्नका लागि कांग्रेस र एमालेबीच गठबन्धन भएको भन्दै गठबन्धनको मर्म र भावनाअनुसार सरकार अगाडि बढ्नुपर्ने बताए ।
महाधिवेशनबाट लोकतान्त्रिक यातायात व्यवसायी संघको बरिष्ठ उपाध्यक्षमा अर्जुन रानाभाट र विजयबहादुर स्वाँर निर्वाचित भए भने उपाध्यक्ष खुलातर्फ शरद अधिकारी, नन्दलाल श्रेष्ठ, सानुकाजी प्रजापति, सुरेश हमाल र कान्छामान बल निर्वाचित भएका छन् ।
त्यस्तै प्रदेशतर्फको उपाध्यक्षमा राजेन्द्र रिजाल (कोशी), मनोज चौधरी (मधेश), सुवन गिरी (बागमती), गोकर्ण कार्की (गण्डकी), मनप्रसाद आचार्य (लुम्बिनी), विष्णुबहादुर खड्का (कर्णाली) र उपेन्द्र सिंह विष्ट (सुदूरपश्चिम) निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ निर्वाचित भएकी छिन् ।
त्यस्तै महासचिवमा केदारनाथ पौडेल निर्वाचित हुँदा उपमहासविचमा रजन रोक्का निर्वाचित भएका छन् । त्यस्तै सचिवमा रवि रिमाल, किरणकुमार खड्का र राजेश कुमार श्रेष्ठ निर्वाचित हुँदा कोषध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः राजेन्द्र विक्रम बानिया र टेकराज जोशी निर्वाचित भएका छन् ।
महाधिवेशनपछि व्यवासायीहरुले महाधिवेशन सम्पन्न गर्नका लागि संयोजक हुमागाईंको भूमिकाबाट देशभरका व्यवसायी उत्साहित भएको जनाउँदै आगामी दिनमा व्यवसायीले हालसम्म भोग्दै आएका समस्या समाधान हुनेमा आशावादी समेत बने ।
महाधिवेशनलाई कांग्रेस उपसभापति धनराज गुरूङ, कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसीका साथै कृषिमन्त्री रामनाथ अधिकारीले सम्बोधन गरेका थिए ।
त्यस्तै केन्द्रीय सदस्य सीता गुरूङ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँ, ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठलगायतले यातायात क्षेत्रमा गरिएको लगानी सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

