

सुदूरपश्चिममा देउवा कसका दाहिना हुन्छन् ?
मुख्यमन्त्रीका लागि दौडधुप

काठमाडौं – केन्द्रीय सत्ता समिकरणको सहमती अनुरुप यस पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसको कोल्टामा परेको छ ।
हाल एकीकृत समाजवादीबाट मुख्यमन्त्री रहेका दीर्घबहादुर सोडारीको बहिर्गमन निश्चय भएपछि प्रमुख दुई ठूला दल(कांग्रेस/एमाले) सोडारीलाई चाँडोभन्दा चाँडो सत्ता बाहिर ल्याउन आत्तुर छन् ।
सोडारीलाई विश्वासको मतका लागि अझै केही दिनको समयसीमा रहेपनि दुई ठूला दलहरू भने उनलाई चाँडै सत्ताबाट बाहिर ल्याएर आफ्नो सत्ता निर्माणका लागि पछि परिरहेका छन् ।
सोडारी नेतृत्वको सरकारमा सहभागी एमालेले साथ छोड्दा ल्याएको बजेटपनि पास हुन नपाएको झोकमा मुख्यमन्त्री सोडारीले देखेको अध्यादेशको बाटोबाट बजेट ल्याउन पाएका छैनन् । त्यसकै बदलामा उनी दुई ठूला दललाई सहजै मार्ग प्रशस्त गर्ने मुडमा छैनन् ।
अन्तत: सरकारको नेतृत्व आफैँले सम्हाल्ने तयारीमा रहेको कांग्रेसमा भने यसपटक मुख्यमन्त्रीका लागि लबिङ् सुरू भइसकेको छ । त्यसका लागि सुदूरपश्चिम प्रदेश सभाका केही सांसद राजधानीमा रहेका छन् ।
केन्द्रीय तहमा मात्रै शक्तिशाली नभएर आफ्नै गृह प्रदेश रहेका कारणपनि पार्टी सभापति देउवा यस पटक जसका दाहिना हुन्छन् ती नै मुख्यमन्त्री हुने पक्का छ।
प्रदेशको ठूलो दलसमेत रहेको कांग्रेसमा यतिबेला मुख्यमन्त्रीका लागि निर्वतमान मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस सुदूरपश्चिमका पुराना नेता बहादुरसिंह थापा र दिवानसिंह बिष्ट केन्द्रमा लबिङ् गरिरहेका छन् ।
कांग्रेस प्रदेश संसदीय दलको नेता रहेको र यस अगाडि राम्रोसँग प्रदेशको नेतृत्व हाक्न नसकेको भन्दै शाह मुख्यमन्त्रीमा दोहरिन पाउनुपर्ने मागसहित केन्द्रमा लबिङ गरिरहेका छन् । कांग्रेसभित्र प्रकाशमान सिंह समूहसँग नजिक रहेका शाहको निर्वाचन जिल्ला कैलाली रहेको र साथै सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले विगतमा पनि कैलालीबाट प्रतिनिधि सभाको निर्वाचनमा पराजित ब्यहोरेको हुँदा आगामी निर्वाचनमा उनको सहजतालाई पनि ध्यान दिँदै उनी मुख्यमन्त्रीमा दोहरिने बलियो सम्भावना रहेको कांग्रेस निकट नेताहरूको तर्क छ।
यस्तै, कांग्रेसका अर्का तथा पुराना नेता बहादुरसिंह थापाको निर्वाचन क्षेत्र भने कञ्चनपुर-२(२) हो । बैतडीमा जन्मिएर कञ्चनपुरमा बसोबास गरिरहेका थापा प्रदेश संसदीय दलको नेता हुनका लागि समेत लबिङ्गमा थिए । केन्द्रीय निर्देशनपछि संसदीय दलको नेता हुन नपाएका थापाले तत्कालिन मुख्यमन्त्री शाह नेतृत्वको सरकारमा मन्त्री हुन मानेका थिएनन् । देउवा गुटकै नेता एनपी साउद समूहका मानिने थापाको यस पटक मुख्यमन्त्रीको बलियो सम्भावना रहेको छ। देउवा गुटकै अर्का नेता रमेश लेखक यतिबेला संघीय सरकारमा गृहमन्त्री रहेको र साउद समूहले यस पटक सुदूरपश्चिमको मुख्यमन्त्री पाउने सम्भावना रहेको कांग्रेस नेताहरू बताउछन् ।
त्यस्तै, कञ्चनपुर-१(२) बाट प्रदेश सभामा निर्वाचित भएका दिवानसिंह बिष्टपनि आफूलाई मुख्यमन्त्री बनाउन केन्द्रमा लबिङ गरिरहेका छन् । शेखर कोइराला समूहका बिष्ट यतिबेला कोइराला समूह सुदूरपश्चिममा कमजोर रहेको भन्दै आफूलाई मुख्यमन्त्रीको लबिङका लागि शेखरलाई पटक पटक दबाब बढाइ रहेका छन् ।
यसका अलावा सभापति देउवाका भतिजा तथा प्रदेशका पूर्वमन्त्री प्रकाश देउवा, अछामका मेघराज खड्का, बैतडीका पूर्वमन्त्री शिवराज भट्ट र प्रमुख सचेक बिक्रम धामीपनि मुख्यमन्त्रीको लबिङ् छन् ।
प्रदेशको मुख्यमन्त्रीका लागि लबिङ् रहेका प्रत्याशीहरू यतिबेला काठमाडौंमा आ-आफ्नै समूहका केन्द्रीय नेतासँग दबाब बढाइरहेका छन् । तर, पार्टी केन्द्रीय तहमा मात्रै शक्तिशाली नभएर आफ्नै गृह प्रदेश रहेका कारणपनि पार्टी सभापति देउवा यस पटक जसका दाहिना हुन्छन् ती नै मुख्यमन्त्री हुने पक्का छ।

