

रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम

काठमाडौं — रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ बाट स्याउ लोड गरिएको गाडीको झोलाबाट ठूलो परिमाणमा सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ। केरुङबाट काठमाडौं आउँदै गरेको गाडीबाट प्रहरीले आइतबार दिउँसो करिब १:३० बजे ७ किलो ६५३ ग्रामको पहेँलो धातु फेला पारेको हो।
बा ४ ख ६२०१ नम्बरको टाटा गाडी जाँच गर्ने क्रममा, चालक सिटको ढोकामा फल्स बटम बनाएर लुकाइ ल्याइएको अवस्थामा उक्त धातु भेटिएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जानकारी दिएको छ। बरामद गरिएको सामग्री सातवटा बिस्कुटको आकारमा रहेको बताइएको छ।
गाडीका चालक २४ वर्षीय किशोर कुमार भुजेल, गोसाइकुण्ड गाउँपालिका–५ का बासिन्दा हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डीएसपी खेमबहादुर शाहीका अनुसार, उक्त धातु सुन हुन सक्ने आशंकामा परीक्षण प्रक्रिया अघि बढाइएको छ। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण पौडेलले उक्त धातुको परीक्षण गर्न बाँकी रहेको र प्रमाणित भएपछि मात्र सुन भनेर पुष्टि गर्न सकिने जानकारी दिएका छन्।

