अधुरै रह्यो क्याप्टेन बनेर बिहे गर्ने कोपाइटल कटुवालको सपना


काठमाडाैं- बुधबार मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।

उडान भरेको केही सेकेण्डमै दुर्घटनामा परेको जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ । जहाजका चालक मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । घाइते भएर उपचारत उनी खतरामुक्त रहेका छन् ।

साे विमानका काेपाइटल थिए, सुशान्त कटुवाल । २ वर्षअघि मात्रै सौर्य एयरमा कोपाइलटको रोजगारी पाएका कटुवाल दक्षिण अफ्रिकामा पढेर नेपाल फर्किएका थिए । २७ वर्षीय सुशान्त परिवारको एक्लो सन्तान हुन् । बुवा र आमा विराटनगरमा बस्ने गरेका थिए । तर, छोरो कोपाइलट भएपछि उनीहरु पनि छोरासँगै बस्न भक्तपुर आएका थिए ।

पुर्ख्यौली घर ओखलढुंगा भए पनि विराटनगरमा बस्दै आएका कटुवाल परिवार सुशान्त कोपाइलट भए मात्रै भक्तपुर आएको हुन् । कटुवालको घर विराटनगर महानगरपालिका-३ आयल निगमपूर्व उदय मार्गमा रहेको छ ।  उनकाओमबहादुर कटुवाल मोरङका पूर्वजिल्ला शिक्षा अधिकारी हुन् । ओमले छोरा सुशान्तको पाइलट कोर्सको लागि आफ्नो कमाइ लगानी गरेका थिए ।

ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवाल क्याप्टेन हुने लाइनमा थिए । त्यसपछि मात्रै  बिहे गर्ने उनकाे याेजना रहेकाे पारिवारिक स्राेतले बताएकाे छ ।

तर, सपना पूरा नहुँदै निधन हुँदा उनकाे परिवार तथा साथीभाइ मानसिक रुपमा विक्षिप्त बनेका छन् । ‘भावपूर्ण श्रद्धाञ्जली साथी सुशान्त कटुवाल १ ‘क्यान नट विलिभ यार’ जब एउटा डिपार्चर कक्षबाट ‘बाई’ भन्दै बिदाइमा हल्लिएका हात अर्को आगमन कक्षमा ‘हाई’ भन्न नपाउँदै आकाशको इन्द्रेणी बिलाएजसरी बिलाउँछन्, तब यस्तो लाग्छ– यति छोटो जिन्दगीका लागि हामीले देख्ने गरेका लामा–लामा सपनाहरू कतै ओभरडोज त होइनन् ? ’ कटुवालको निधन भएपछि उनका साथी अमित भण्डारीले सामाजिक सञ्जालमा लेखेका थिए ।

प्रतिक्रिया