

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादव ५ लाख धरौटीमा रिहा हुने

काठमाडौं- जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ललितपुर जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश टेकराज जोशीको इजलासले यस्तो आदेश दिएको हो। यादवले धरौटी बुझाएपछि रिहा हुने ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
७ वैशाखमा ठगी आरोपमा सप्तरीबाट पक्राउ परेका यादवमाथि पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले ललितपुरमा उजुरी दिएका थिए। जाहेरीमा यादव र उनकी पत्नी ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो माग गरिएको थियो।
उनीहरूविरुद्धको विवाद जनमत पार्टीका लागि किनिएको भनिएको ललितपुर इमाडोलस्थित एक तीन तले घरको खरिदसँग जोडिएको छ। उक्त घर शिवा आलेको नाममा रहेको महालक्ष्मी नगरपालिका–४, इमाडोलको कित्ता नम्बर ९४३ मा रहेको हो।
पार्टी सचिवालयको निर्णयअनुसार घर खरिदका लागि यादवलाई जिम्मा दिइएको र त्यस अनुसार रकम दिइएको पार्टी स्रोतको दाबी छ। तर यादवले भने उक्त पैसा आफूले चुनाव खर्चमा प्रयोग गरेको र पछि फिर्ता गरेको तर्क दिएका छन्।

