

भरत ताल प्रकरणमा पूर्वमन्त्री विजय कुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकामा रहेको भरत ताल निर्माणमा भ्रष्टाचार गरिएको अभियोगमा मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारसहित आठ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्दै उनीहरूलाई सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको अभियोग लगाएको हो। सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटो जस्ता वन पैदावार अवैध रूपमा उत्खनन गरेर खाल्डो बनाई माछा पोखरी निर्माणको नाममा करोडौं रुपैयाँ अनियमित ढंगले खर्च गरिएको आयोगको ठहर छ।
मुद्दा दायर गरिएकामा पूर्वमन्त्री विजय कुमारसँगै बागमती नगरपालिकाका तत्कालीन मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मुक्तान, प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर निरन्जन लामिछाने, इन्जिनियर सागर पौडेल र कानुन अधिकृत गोकुल भुजेल छन्।
मेयर, उपमेयर र प्रशासकीय अधिकृत पहिलेबाटै निलम्बनमा छन्। मन्त्री विजय कुमारले २०७८ असार ६ गते मन्त्रालयबाट निर्णय गर्दै ३० करोड रुपैयाँ अनुदान दिने निर्णय आफैंले एमओयुमा हस्ताक्षर गरी गरेका थिए।
अख्तियारका अनुसार उनीहरूले बिना अनुमति, बिना अध्ययन वन क्षेत्रमा संरचना निर्माण कार्य अगाडि बढाएका छन्। वन विकास परियोजनाले पटक–पटक उत्खनन रोक्न अनुरोध गरे पनि बेवास्ता गर्दै काम अघि बढाइएको उल्लेख छ।
आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना माग गर्दै पूर्वमन्त्री विजय कुमार र कानुन अधिकृत भुजेलसँग २९ करोड ९९ लाख, मेयर, उपमेयर, प्रशासकीय र लेखा अधिकृतसँग ५६ करोड ३ लाख, इन्जिनियर लामिछानेसँग १० करोड १४ लाख र इन्जिनियर सागर पौडेलसँग ४६ करोड ५६ लाख बिगो मागदाबी गरेको छ।

