


१० मिनेटसम्म बिना पाइलट उडेको लुफ्थान्सा विमान

बर्लिन- जर्मनीको फ्र्याङ्कफर्टबाट स्पेनको सेभिलातर्फ उडिरहेको लुफ्थान्सा एयरलाइन्सको एक यात्रुवाहक विमान १० मिनेटसम्म बिना पाइलट आकाशमा उडेको खुलासा भएको छ।
२०२४ फेब्रुअरी १७ मा भएको उक्त घटनाको विवरण स्पेनको विमान दुर्घटना अनुसन्धान प्राधिकरण (CIAIAC) को रिपोर्टमा उल्लेख गरिएको जर्मन समाचार संस्था डीपीएले शनिबार सार्वजनिक गरेको हो।
रिपोर्टअनुसार, एयरबस A321 विमानमा १९९ यात्रु र ६ जना चालक दल सवार थिए। विमानको कप्तान शौचालय गएको बेला को–पाइलट एक्लै ककपिटमा थिए। सोही समयमा उनी अचेत भएपछि विमानमा करिब १० मिनेटसम्म कुनै पाइलटको कमाण्डमा नभई उडिरहेको अवस्था सिर्जना भएको थियो।
धन्य, सो समय सक्रिय अटो–पाइलट प्रणालीका कारण विमान स्थिर अवस्थामा उडिरहेको थियो। ककपिटमा रेकर्ड भएको अडियोमा आकस्मिक स्वास्थ्य समस्यासँग मेल खाने अजीब आवाजहरू सुन्न सकिएको डीपीएको रिपोर्टमा उल्लेख छ।
कप्तानले सामान्य डोर कोड पाँचपटक प्रयोग गरेर भित्र छिर्न प्रयास गरे तर कुनै प्रतिक्रिया आएन। त्यसपछि एक स्टाफले को–पाइलटलाई टेलिफोनमार्फत सम्पर्क गर्न प्रयास गरिन्। अन्ततः कप्तानले आपतकालीन डोर कोड प्रयोग गरे, जसले ढोका खुल्न लाग्दै गर्दा भित्रबाट नै अचेत अवस्थामा रहेका को–पाइलटले ढोका खोलेका थिए।
सुरक्षाका लागि कप्तानले विमानलाई स्पेनको म्याड्रिडमा आकस्मिक अवतरण गराएका थिए, जहाँ को–पाइलटलाई उपचारका लागि अस्पताल लगिएको थियो।
लुफ्थान्साले यस घटनाको छानबिन भएको पुष्टि गर्दै आन्तरिक रुपमा पनि अनुसन्धान गरिएको बताएको छ। यद्यपि, अनुसन्धानको नतिजा भने सार्वजनिक गरिएको छैन।

