गिरीजाबाबु एउटा ‘ब्रेकिङ न्युज’


ब्रेकिङ न्युज कभर गरिरहेका बेला म आफ्नो लैंगिक पहिचानको अर्थ खुट्याउँदिन। बस मेरो भागदौड त्यहि समाचारका पछि हुन्छ।

तर ब्रेकिङ न्युज के हो? कस्तो हो? यसको पहिचान कसरी गर्ने? यो प्रवित्ति, पात्र र घटनामा कसरी हुन्छ होला?

यस्तै यस्तै लाग्थ्यो।

तर जब गिरीजाप्रसाद कोइराला बिराटनगरमा उत्रिन्थे र राजनीतिक भनाई राख्थे ब्रेकिङ न्युजको पहिचान सुरु भयो। हामीले काम गर्ने अखबारका लागि त्यो ठूलो समाचार हुन्थ्यो।

पहिला पहिला पर कोलम पर सेन्टिमिटरमा पैसा दिने स्ट्रिङगरको काम गर्दा गिरीजाबाबु समाचार मात्र कहाँ हुन्थे र राम्रो समाचार हुने गर्दथे। अखबारले प्रथम पृष्ठमा समाचार मात्र छाप्ने थिएन, त्यसको मूल्य अधिक हुने गर्दथ्यो र बाइलाइन फ्रन्ट पेजमा आउँदा हर्षविभोरता अर्कातिर हुन्थ्यो।

गिरीजाबाबुको स्मृति दिवसमा ति दिनहरू, संघर्ष र समाचारका निम्ति बिराटनगरका भागदौड, कोइराला निवासमा ‘ब्रेकिङ न्युज’ पर्खिनुको तिर्खा र तिर्सनालाई आँखा अगाडि ल्याउँछ।

सायद अखबार र समाचारभित्र नै लुकामारी गरिरहेका कारण गिरीजाबाबुसँगका कतिपय घटनाक्रमलाई पुनर्ताजगी गर्दा पनि एउटा गज्जबको समय थियो भन्ने लाग्छ।

यो आलेख भन्दा पनि अधिक संस्मरण र गिरीजाबाबुसँग जोडिएका प्रसङ हल्लाका चर्चा भन्न रुचाउँछु। शीर्षक गिरीजाबाबु एउटा ब्रेकिङ न्युज हुन् भन्नुको अर्थ छ।

मैले पत्रकारिताको एउटा सघन र तेजगतिको यात्रा गर्ने क्रममा नेताहरू नियाँलेको थिए। देशमा हलचल आउने चिज गिरीजाबाबुले कहिल्यै पनि काठमाडौंमा बोलेनन्।

अझ जनआन्दोल–२ पछि त प्रधानमन्त्री र राष्ट्र प्रमुखको पनि हैसियत राखेका उनले शान्ति सम्झौताका क्रममा तत्कालिन ठूलो घटनाका एउटा पात्र पुष्पकमल दाहाल प्रचण्डलाई मञ्चमा नै भनिदिए– आतंककारी भनेको कस्तो हुन्छ जस्तो लाग्थ्यो होला, देख्नुभयो प्रचण्डजीलाई हामी जस्तै हुन्छ।

जनआन्दोलनको नेतृत्व मात्र होइन प्रधानमन्त्रीका हैसियतमा भारत भ्रमण जाँदा प्रोटोकल नै तोडेर तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह गिरीजाबाबुलाई लिन आए। त्यो नेपालमा ब्रेकिङ न्युज बन्यो।

देश गणतन्त्रतिर दौडिरहेका बेला, भर्खरै राजतन्त्रविरुद्धको ठूलो जनमत बनेको बेला, जनताले संघर्ष जितेका बेला बिराटनगरमा पुगेका गिरीजाबाबुले भनिदिए– देशमा बेबी किङ हुन सक्छ!

अहिले टुहुरो बनेको कोइराला निवासमा चरोमुसो पनि समाचारको खोजीनीति गर्न पुग्छ या पुग्दैन? थाहा छैन। उनी अस्ताएकै बेला मैले अन्तिम ब्रेकिङ न्युज अखबारमा लखेको थिएँ– अस्ताए ब्रेकिङ न्युज!

त्यसबेला पूर्वयुवराज पारसपुत्र भर्खरै जन्मिएका थिए। उनी तन्नेरी भएका छन्। गिरीजाबाबुले त्यसबेला दिएको ब्रेकिङ न्युज तन्नेरी भयो भन्ने बुझौं।

त्यसैबेला ‘कान्तिपुर’मा वात्सायनकृत गिरीजाबाबुले राजतन्त्रको सिनो बोकेको कार्टुन प्रकाशित हुँदा देश नै हल्लियो। आखिर त्यो पनि त एउटा ब्रेकिङ न्युज नै थियो।

तराई मधेसमा ठूलो आन्दोलन चलिरहेका बेला नेपाली कांग्रेसबाट महन्थ ठाकुरहरु बाहिरिए। तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरे। पत्रकार सम्मेलन चलिरहेको थियो, बिराटनगरमा। मैले प्रश्न गरें– प्रधानमन्त्री ज्यु, ठाकुरहरु त छाडी गए कस्तो अनुभव गर्नुभएको छ?

उनको उत्तर थियो– ६० बर्षदेखिको साथ गुमाएको लागेको छ। उहाँ किन जानुभयो थाहा छैन तर कांग्रेसको विचारलाई लिएर जानुभएको छ।

मैले काम गर्ने अखबारका लागि त्यो पनि ‘ब्रेकिङ न्युज’ भएको थियो।

गिरीजाबाबुाका अनेक किस्सा सुन्थ्यौं हामी। मलाई बिराटनगरमा कसैले मम खुवाउन लैजाँदा, मिठाई खुवाउन लैजाँदा भन्थ्यो– यी पसलहरू गिरीजाबाबुले मम, मिठाई खाने हुन्।

राजनीतिक रुपमा पनि एउटा र्युमर हो या साँच्चै कतिपय प्रसङ्ग सुन्थ्यौं। ति सुनाईलाई यहाँ राख्छु। यी प्रसङ्ग मेरा लागि अपुष्ट हुन् र सत्य हुन पनि सक्लान्।

एउटा भनाई निक्कै नै सुनिएको थियो–

एक दिन गिरीजाबाबुले प्रचण्डलाई बोलाएछन्। खै कुरामा चित्त बुझेको थिएन। भनेछन्– प्रचण्डजी, धेरै बकबकचाहिँ नगर्नुहोला, जहाँबाट ल्याएको त्यहिँ लगेर छाडिदिन्छु।

माओवादी द्वन्द्वलाई व्यवस्थापन गरिरहेका बेला शान्ति सम्झौताको तयारीमा थिए गिरीजाबाबु। सोही बखतमा युरोपियन युनियनका राजदूत जति बालुवाटारमा सामूहिक रुपमा पुगेर भनेछन्– माओवादीलाई त सिध्याउनुपर्छ। यी आतंककारी हुन्।

गिरीजाबाबुले जवाफ फर्काएछन्– तपाईहरूको समस्या हो यो? तपाईको देशमा माओवादीले समस्या गराएका छन्? राजदूतहरु अवाक भएछन्। अनि, गिरीजाबाबुले फेरि भनेछन्–

‘दिस ईज माई प्रब्लम, आई नो हाउ टु सोल्भ। इफ यु अल ह्याब एनी प्रोब्लम हियर, देन टेल मि’ अर्थात् माओवादी मेरो समस्या हो कसरी समाधान गर्नुपर्छ मलाई थाहा छ। यदि तपाईहरुलाई यहाँ कुनै समस्या भए भन्नुहोस् म प्रधानमन्त्रीका नाताले त्यो समस्या समाधान गर्न सक्छु।

गिरीजाप्रसाद कोइरालाले कांग्रेसभित्र अनेक वितण्डाको राजनीतिक गरे भनियो। अनुभवीलाई थाहा होला। एउटा अराजनीतिक र झन्डै दुई दशक अघि मात्र पत्रकारितामा पाइला चालिरहेको मेरा लागिचाहिँ उनी एउटा गहन पात्र थिए।

अझ मोफसलमा रहेका रिपोर्टर, स्ट्रिङगरका लागि त उनी बरदान थिए। उनको देहान्तले देशलाई त मर्माहत बनायो नै तर पूर्वक्षेत्र आधार बनाएर पत्रकारिता गर्ने अखबारका रिपोर्टरका लागि समाचार पनि अस्ताएको थियो।

अहिले टुहुरो बनेको कोइराला निवासमा चरोमुसो पनि समाचारको खोजीनीति गर्न पुग्छ या पुग्दैन? थाहा छैन। उनी अस्ताएकै बेला मैले अन्तिम ब्रेकिङ न्युज अखबारमा लखेको थिएँ– अस्ताए ब्रेकिङ न्युज!

हार्दिक श्रद्धासुमन गिरीजाबाबु!

प्रतिक्रिया