

मेरी श्रीमती भन्छिन्– व्याख्या गर्न नसक्ने विषय नै ‘प्रेम’

अनयाश एउटा प्रश्न मनमा उब्जियो, एक बिहान। घमाइलो बिहानीमा आँखा मिच्दै श्रीमतीको अनुहार नियाँले। अदभूत चमक देखेपछि मनमा उब्जिएको प्रश्न तेर्साएँ– बुढी प्रेम भनेको के हो?
प्रश्न खस्न नपाउँदै उनले भनिन्– व्याख्या गर्न नसक्ने विषय नै प्रेम हो।
वास्तवमा संवेदनाहरूका अनेक आयामको तरेलीमा उत्रिएर व्याख्याको अपनत्व हुन्छ, यस शव्दमा। प्रेमलाई मानिसले आफूअनुकुलताका आधारमा वा प्रतिकूलताका आधारमा व्याख्या गरिदिन्छ।
व्याकरणले त यसलाई ‘नाम’ भन्छ। व्याकरण प्राविधिक अर्थ लगाउने सुत्राधार मात्र हो। तैपनि व्याकरण भन्छ–
प्रेम भनेको स्थिरतासहितका लगाव हो। यो दयाभाव हो। यो घमण्ड होइन। यो दुराचार होइन। यो सदाचार हो। यो नीजि महत्वकांक्षा होइन। यो सहज हिसाबले उत्पन्न हुने रिस वा आवेग होइन। यसले गलत चिजलाई स्मरणमा राख्दैन। यसले सँधै रक्षा गर्छ, यसले सँधै विश्वास गर्छ। यो सँधै आशावादी हुन्छ। प्रेम कहिले असफल हुँदैन।
प्रेम व्याख्याहिन किन हो? यसका लागि विलियम सेक्सपियरको एउटा भनाई स्मरणमा आयो। उनले भनेका थिए–
जब मैले तिमीलाई देखें, म प्रेममा परें
र, तिमी मुस्कुरायौ किनभने तिमीले थाहा पायौ।
जसरी संगीतका अनेक आयाम हुन्छन्। जहाँ कहीँ हुन्छन्। प्रेमका पनि यस्तै आयाम र व्याख्या हुन्छन्। चराको कुहुकुहुमा, पानीको टिपटिपमा, हावाको बहकाउमा संगीत हुन्छन्। यी त ति प्रेम नै हुन् जसले रोमाञ्चित बनाउन मद्दत गर्छन्।
मेरी श्रीमती बेलामौका मलाई कुनै रहर लागेको चिज खानबाट रोक्निछन्। मलाई उत्साहका साथ जान मन लागेको ठाउँको खराबी सुनाउँछिन्। यो पनि प्रेमकै एउटा व्याख्या हो। किनकी उनी मलाई प्रेम गर्छिन्, मेरो प्रेमको आयु लामो होस् भन्ने चाहना राख्छिन्।
मेरी श्रीमतीको एक शव्दको उत्तरमा प्रेमका व्याख्या छन् कि त्यो व्याख्याबिहीन हुन्छन्। मैले विज्ञानले प्रेमलाई के भन्छ त भनी जान्ने कोशीश पनि गरें। अल्बर्ट आइन्स्टाइनले के भनेका थिए प्रेमका बारेमा? उत्सुकताको एउटा प्रश्न उठ्यो।
आइन्स्टाइनले भनेका छन्– प्रेम भनेको कर्तव्य भन्दा पनि उत्तम शिक्षक हो।
प्रेमका अनेकन व्याख्या छन्। जसले दुखको भुमरीमा आफूलाई उभ्याएका थिए उनीहरू मुनामदनमार्फत पोखिए, सबैले त्यसको ज्ञानपान गरेका नै छौं। त्यसैले त महात्मा गान्धीले पनि भनेका थिए– जहाँ प्रेम छ त्यहाँ जीवन छ
हो, यो प्रेमै त हो जसले आविश्कारका कयन उत्प्रेरणामा बाँच्न सिकाउँछ। भौतिक दुनियाँलाई अझ सरल बनाउन त्यहि खोजप्रतिको प्रेमको योगदान थियो र त आइन्स्टाइन पनि प्रेमबारे अनविज्ञ नरहेका हुन्।
प्रेमको आधुनिक परिदृश्यका अनेक व्याख्यासँग सामिप्य रहेका कारण यसको अर्थ १६ औं शताब्दितिर खोज्ने रहर जाग्यो। र, अब्राहम लिंकनले प्रेमलाई कसरी व्याख्या गरे होलान् भन्ने प्रश्नको चक्रव्युह चल्यो।
एउटा गरिबको छोरो, हामीले पढेका थियौं– सडक बत्तीमुनी बसेर ख्याउटे दाउरेको छोरो लिंकन पछि राष्ट्रपति बने, अमेरिकाको। उनले काला जाती र गोरा जातीबीचको ठूलो खाडल र हिंसालाई अन्त्य गरे।
जसले मुलुकको ठूला विभेदलाई हटाउने योगदान गरे, उनका मनमा प्रेमका बारेमा के थियो होला? यहि उत्सुकतामा पुस्तकका पाना पल्टाउँदै गर्दा लिंकन भन्छन्–
यदि तिमी कुनै चिजलाई प्रेम गछौं भने यसलाई स्वतन्त्र छाड।
हो, जसले स्वतन्त्रता र दासताविरोधी अभियान र निर्णय गरायो उसले स्वतन्त्रतालाई प्रेम ठान्ने नै भयो। कुनै एक पुरुष र महिलाको जीवनका उतारचढाव मात्र प्रेम होइन। १६ औं शताब्दिले मागेको प्रेम थियो– स्वतन्त्रता।
यो अदभूत र व्याख्याहिन शव्द हुनुको कारण के थियो? विश्वको क्रुरताको पराकाष्टका रुपमा इतिहासमा अध्ययन गराइने पात्र एडोल्फ हिटलरको मनमा प्रेम थियो? या उसँग सत्ता र स्त्रीको हवस मात्र थियो? या उसले प्रेमलाई कसरी व्याख्या गरेका थिए होला भन्ने पनि एउटा प्रश्न खड्कियो। म हिटलरतिर सोझिएँ।
प्रेमबारे उसले भनेका रहेछन्– म तिमीलाई सल्लाह दिन्छु युद्ध गर प्रेम नगर। युद्धमा तिमी कि बाँच्छौ कि मर्छौ तर प्रेममा तिमी न बाँच्छौ न मर्छौं।
मलाई लाग्छ– हिटलर प्रेममा धोका पाएको त्यो शासक रहेछन् जसले प्राप्तिलाई एउटा अहम् बनाए र प्रेमको साटो सत्तालाई आफ्नो उद्देश्य बनाए। वास्तवमा उसको चरित्रअनुसारको व्याख्या उसले पनि अनुकुलतामा गरिदिए।
प्रियजन,
प्रेमका अनेक आयाममा विश्वास गर्नैपर्छ। त्यसैले त भगवान गौतम बुद्धले पनि भनेका छन्– समझदारीबाटै सत्य प्रेमको जन्म हुन्छ।
यतिमात्र होइन, प्रेमका अनेकन व्याख्या छन्। जसले दुखको भुमरीमा आफूलाई उभ्याएका थिए उनीहरू मुनामदनमार्फत पोखिए, सबैले त्यसको ज्ञानपान गरेका नै छौं। त्यसैले त महात्मा गान्धीले पनि भनेका थिए– जहाँ प्रेम छ त्यहाँ जीवन छ।
त्यसैले मेरी श्रीमतीको एउटा उत्तरमाथि फेरि घोत्लिएँ। मैले उनीसँग व्याख्या खोजी गरिन। उनको एक अमूर्त उत्तरमा कति मूर्त पयार्यहरू खुट्यान र अन्वेषण गर्न मद्दत पुग्यो, त्यहि पहिल्याएँ। र, भान्छातिर अलमल गरिरहेकी श्रीमतीलाई मनमनै भनें– धन्य छ तिम्रो उत्तर!

