सक्रिय सीआईबी: डिआईजी थापाले यसरी लयमा ल्याए


काठमाडौं– ‘द फादर अफ मोडर्न क्रिमिनल इन्भेष्टिगेशन’ भन्ने उदाहरणको लयमा हिँड्न थालेको छ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ।

सीआईबीले गर्ने हरेक अनुसन्धान र परिणामले पनि त्यसैलाई जिकीर गरेको पाइन्छ । प्रहरी नायव महानिरिक्षक (डिआईजी) सहकुल थापाको नेतृत्व पाएपछि सीआईबी थप चलायमान भएको छ ।

हराएका, लुकाएका पुराना मुद्दाको मिसिल पल्टाउँदै सीआईबी अहिले रात दिन आरोपित, अभियुक्त तथा आपराधिक गिरोहको खोजीमा आक्रामक छ ।

दुई दशक पुराना मुद्दाको अनुसन्धान गर्दै सीआईबीले फरार भएका अभियुक्तहरूलाई देश–विदेशबाट कान समातेर कानुनको कठघरामा उभ्याउने अभियान नै चलाएको छ ।

अपराध अनुसन्धानलाई नियमित र गतिशील प्रक्रियाका रुपमा परिमार्जन गर्दै लैजाने तथा अपराधीहरूको अपराध गर्ने शैली र सञ्जालको बिस्तार तीव्र रुपमा भएका कारण अपराध अनुसन्धानको क्षेत्र चुनौतीपूर्ण बन्न थालेपछि नेपाल प्रहरीले ०६७ मा सीआईबी स्थापना गरेको थियो ।

सीआईबीको स्थापना सँगै त्यसको प्रमुख थिए तत्कालिन डिआईजी राजेन्द्रसिंह भण्डारी । स्थापना कालमा पूर्वएआईजी भण्डारीले सीआईबीलाई एउटा ब्राण्ड बनाईदिए ।

अपराध र आपराधिक गिरोहको लागि सीआईबी ‘काल’ नै साबित भयो । जुन उद्देश्यका साथ सीआईबीको स्थापन भएको थियो त्यो भण्डारीको कार्यकालमा ठूलो उपलब्धि हासिल गर्यो । भण्डारीले  भिओआईपीबिरुद्ध कठोर रुपमा सीआईबीलाई उभ्याए । केही प्रहरी अधिकृतको भनाईलाई मान्ने हो भने सीआईबीको अबधारण नै पूर्वएआईजी भण्डारीको थियो ।

भण्डारीको सरुवा पश्चात सीआईबीमा दोस्रो निर्देशकका रुपमा तत्कालिन डिआईजी तथा पूर्ब आईजीपी उपेन्द्रकान्त अर्यालको आगमन भयो । पूर्वआईजी अर्यालले पनि सीआईबीलाई एउटा उचाईमा पुर्याई छाडे ।

अर्यालको सरुवा पश्ताच भने सीआईबी खासै जम्न सकेन सीआईबीका निर्देशकका रुपमा बसेका तत्कालिन डिआईजी केशर बहादुर शाही, प्रकाश अर्याल तत्कालिन एसएसपी उत्तम कुमार कार्कीले सीआईबीको गरिमा बुझ्न सकेनन् ।

उनीहरूको पालामा सीआईबी सुस्तायो । त्यसपछि १ साउन ०७१देखि सीआईबीको निर्देशकको रुपमा हेमन्त मल्ल ठकुरीको आगमन भयो । मल्लको आगमनसँगै सीआईबीले केही पुराना फाईल पल्टायो । केही अभियुक्तहरूलाई पक्राउ गरी कानुनको दायरामा ल्यायो ।

चर्चामा रहेको रानीबारी हत्याकाण्डका अभियुक्तलाई कानुनको कठघरामा उभ्याउन सफल भयो । त्यसताका तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्यालले रानीबारीमा भएको ईन्जिनियर दम्पत्ती हत्याका अभियुक्तलाई सार्वजनिक गर्दै घाँटीमा अड्किएको काँडो निकालिएको महशुस भएको बताए । रानीबारी हत्याकाण्डको अनुसन्धान हुन नसक्दा प्रहरी सधै आलोचित हुँदै आएको थियो ।

तर रानीबारी हत्या काण्डको अभियुक्तलाई तत्कालिन सीआईबी प्रमुखले पक्राउ गर्न सफल भए पनि यक्त घटना किन र के का लागि घटाईएको थियो भन्ने अझै गर्भमै छ । पक्राउ परेका मनराज  गुरुङ र प्रमेश चौहानलाई कन्ट्रयाक किलरको रुपमा देखाए पनि  सुपारी दिने व्यक्ति को हुन् र किन सुपारी दिईयो भन्ने आजसम्म खुलाउन सकेको छैन ।

उक्त हत्या काण्डका मुख्य योजनाकार भोलीका दिनमा पक्राउ परी आएमा अनुसन्धान अन्त नमोडिएला भन्न सकिन्न । उच्च प्रहरी स्रोतका अनुसार दम्पत्ती हत्याका योजनाकार हाल अमेरिकामा छन् ।

डिआईजी मल्लको सरुवा पश्चात सीआईबीको नेतृन्व पूर्वडिआईजी तथा हाल नेकपाका सांसद नवराज सिलवालको पोल्टामा पुग्यो । सिलवालको आगमनसँगै सीआईबी अपराध र आपराधिक गतिबिधीमाथि आक्रमक रुपमा प्रस्तुत भयो । पहिलो पटक सीआईबी अन्तर्राष्ट्रिय बिमानस्थलबाट तस्करी भईरहेको ३३ किलो सुन बरामद गरेर तस्कर माफियाका लागि किलकिलेको काँडो बन्यो ।

सुनमा नेपालका व्यापारीक घरानिया तथा उच्च प्रहरी अधिकृतकै संगलग्नता पाईयो । जसको चिरफार तत्कालिन डिआईजी सिलवालले गरे । सोही ३३ किलो सुन काण्डले सिलवालको आईजी यात्रामा राजनीतिक तथा पहुँचवालाले असर पुराए । 

नेपाल प्रहरीको २९ बर्षिय जागिरको दैरानमा सँधै एक नम्बरका सिलवाल अन्तमा सीआईबीबाट भूमिगत हुन पर्यो । सिलवालपछि सीआईबीको निर्देशकको रुपमा पूर्बएआईजी पुष्कर कार्की पुगे ।

कार्कीले पनि सिलवालको रफतारलाई कम गरेनन् । कार्कीले जघन्य अपराधका फरार प्रतिबादी खोज्ने देखी आर्थीक अपराधमा बढी चासो राखेर मुद्दाका अनुसन्धान गरे । बैंकका आर्थिक अपराधमा कार्कीले बढी नै चासो देखाए ।

कार्की एआईजीमा बढुवा भएपछि सीआईबीको नेतृत्वमा तत्कालिन आईजी सर्वेन्द्र खनालले नारायणसिंह खड्कालाई पठाए । डिआईजी खड्काले सीआईबीको काम कर्तव्य अधिकार बिर्सिए । उनको पालामा सीआईबीले माखो मार्न सकेन ।

उनको सरुवा पछि नेपाल प्रहरी संगठनमै स्वस्छ छबीका मानिएका तत्कालिन डिआईजी तथा हालका एआईजी निरजबहादुर शाहीको सरुवा भयो । सुडान काण्डमा एआईजी शाहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामे पनि उनी भ्रष्टाचारका मामिलाबाट टाढै रहने प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

नेपाल प्रहरी संगठनमै वर्तमान आईजी शैलेश थापापछि व्यवसायीक प्रहरी अधिकृतका रुपमा शाहीको गणना हुन्छ । तर उनले सीआईबीमा भने उल्लेखनिय काम गर्न सकेनन् । उनको पालामा नियमति काम भन्दा सीआईबीले गर्नु पर्ने कुनै काम गरेको विवरणले देखाउँदैन ।

शाहीको सरुवा पछि हाल सीआईबीको निर्देशकका रुपमा डिआईजी सहकुल थापा छन् । अपराध महाशाखाको नेतृत्व गर्दै गर्दा डिआईजी बढुवा भएपछि थापाको सीआईबीमा पोष्टिङ भएको थियो । थापाले नेतृत्व सम्हालेपछि सीआईबीले उद्देश्यअनुसारको लय समातेको छ ।

एसपी हुँदा चुनौतीका रुपमा देखिएका जिल्ला प्रहरी कार्यालय चितवन, काभ्रे र एसएसपीमा अपराध महाशाखाको सफल नेतृत्व गरेका थापालाई सरकारले पुरस्कार स्वरुप एक नम्बरमा बढुवा गरेको थियो ।

डिआईजी बढुवा गर्दै थापालाई सीआईबीको जिम्मेवारी दिएको थियो । थापाको नेतृन्वसँगै सीआईबी आक्रमक रुपमा गतिशील छ । बिश्व नै कोरना भाईरसबाट आक्रन्त बनेको समयमा पनि सीआईबीले आफ्नो कर्म र र्धमबाट कत्ति पनि बिचलित नभई जघन्य अपराधका पुराना फाईल पल्टाउँदै अपराधमा संलग्नलाई देशका कुनाकाप्चा देखि बिदेशबाट समेत ल्याएर कानुनको कठघरामा उभ्याउन थालेको छ ।

‘अनुसन्धानको दख्खल र अभ्यासको एउटा नमूना निकायका रुपमा सीआईबीलाई अगाडि बढाउनुपर्छ । यो हिजोका अधिकृतले पनि बढाएका थिए, हामीले पनि एउटा अभ्यास स्थापित गर्नुपर्छ’, डिआईजी थापा भन्छन्,‘प्रहरी प्रधान कार्यालयको एउटा विभाग हो, सीआईबी सफल भए नेपाल प्रहरी सफल हुन्छ, संगठन बलियो हुन्छ ।’

केही वर्षयताका अपराध घटनाहरूलाई विश्लेषण गर्ने हो भने अपराध संख्यात्मक रुपमा त बढेको छ नै, यससँगै घटित अपराधको अनुसन्धानमा बिभिन्न जटिलताहरू पनि थपिएका छन् ।

पुराना शैली र संयन्त्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गरिनु पर्दछ भन्ने मान्यताको उच्च मूल्यांकनका साथ नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सम्बन्धी अबधारणा ल्याइएको थियो ।े बिषेश गरी जटिल र गहन प्रकृतिका अपराधका साथ–साथै आम सरोकारका घटनाहरूको अनुसन्धानमा सीआईबी सफल हुन थालेको छ ।

थापाले सीआईबीको निर्देशकका रुपमा कार्यभार सम्हाले पछि एक दर्जन बढी जघन्य अपराधका फरार प्रतिवादीलाई पक्राउ गरी कानुनको कठघरामा उभ्याएका छन् । छोटो तथा महामारीको यो समयमा यसलाई सीआईबीको ठूलो उपलब्धीका रुपमा व्याख्या गर्नुपर्ने पूर्व प्रहरी अधिकारीहरू बताउँछन् ।

१ बैशाख २०६६ मा गोदावरी नगरपालिकामा डिलबहादुर योञ्जनको हत्या गरी फरार रहेका भिमफेदी नगरपालिका ८ का ५१ बर्षीय भिमसेन मगर र ३० बर्षीय रामकुष्ण मगरलाई ११ बर्षपछि सीआईबीले पक्राउ गर्न सफल भयो ।

यस्तै मलेशियामा अपहरित दाङका मध्य रैदासलाई सिआइबीले सकुशल उद्दार गरी नेपाल झिकाई अपहरणका योजनाकार तथा मुख्य अभियुक्त मोरङका ४४ बर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई दुई साता अगाडि पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

२० पुष २०६३ मा सीतापाईलामा नातिकाजी सुबेदी र उनको श्रीमती सानु सुबेदीको हत्यारा सर्लाहीका जयकिशोर साह र किशन साहलाई सीआईबीले २८ असारमा नेपालगंजबाट पक्राउ गरी कानुनको दायरामा ल्याएको छ ।

२०७१ मा झापामा सुनिलकुमार अग्रवाल नामक व्यक्तिको अपहरण काण्डमा उद्दारमा खटिएका प्रहरीमाथि नै गोली चलाई प्रहरीलाई घाईते बनाई फरार रहेका मध्य नरेश मेचेलाई सीआईबीले नेपाल भारतको सीमा नाका काँकडभिट्टाबाट पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका मेचेलाई जिल्ला अदालत झापाले १७ बर्ष कैद तथा १ लाख ५० हजार जरिवाना तोकेको थियो । उनी माथि अपहरण तथा शरिर बन्धन तथा हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका सिद्धार्थ डेभलपमेण्ट बैंकको तत्कालिन संचालक मधुसुधन सिलवाललाई पनि सीआईबीले ४ असारमा पक्राउ गरेको थियो । सिलवाललाई उच्च अदालत पाटनले दुई बर्ष कैद र  जरिवानको फैसाला सुनाएपछि चार बर्ष देखि फरार थिए ।

सीआईबीले कल बाईपास, जग्गा किर्ते, ठगी जस्ता दर्जन मुद्दाका फरार प्रतिवादी पक्राउ गर्दै पछिल्लो समय अस्थित्वलाई मजबुद बनाएको छ । ‘जुन अवधारणाले सीआईबी स्थापित भएको थियो, त्यसैको उद्देश्यलाई स्थापित गरी प्रविधिमैत्री अनुसन्धानमा सक्रिय हुनुपर्छ’, डिआईजी थापा भन्छन्,‘प्रतिकूलता भनेर केन्द्रीय अनुसन्धानका काम प्रभावित बनाउने वा सुस्त गर्ने अधिकार हामीलाई छैन, हुँदैन ।’

प्रतिक्रिया