

ओलीको पशुपति दर्शन र प्रचण्डको भैंसी पुच्छर पूजाको ‘फ्ल्यासब्याक’

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा पूजा गरेको विषयलाई विभिन्न ‘नामी’ भनिएका डिजिटल पोर्टल र केही राष्ट्रिय अखबारले विभिन्न व्यक्तिको टिप्पणीसहित समाचार प्रकाशन गरेका छन्। समाचारको कोणलाई प्रधानमन्त्री तानाशाही शैलीमा अगाडि बढेको भन्नेबाट तानेका छन्। यसलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधरका कार्यकर्ताले ह्वीम बनाएका छन्।
कतिपय भन्छन्– कम्युनिस्टले पूजा गर्नु हुँदैन। कतिपयले कम्युनिस्ट आचरणविरोधी काम गरेको भनी सत्तोश्राप गरेका छन्। कतिपयले राजा महाराजाको बाटोमा हिँडेको भन्ने तर्क गरेका छन्। यी तिनै कार्यकताहरू हुन् जसले नेकपा एकीकरणका ताका ओली–प्रचण्डको भक्तिगान यस्तो मज्जाले गाएका थिए कि अब पृथ्वीमा अरु भगवानको पूजा नै हुनेछैन। त्यसैले त संविधानविद भिमार्जुन आचार्यको मतसँग सहमति जनाउँदै भन्न मन लाग्छ– लम्पट र हरिलठ्ठक कार्यकर्ता भएपछि मुलुकले यस्तै यस्तै परिदृश्य, परिचर्चा र टिप्पणी देख्न पाउँछ।
मैले केही दिन अगाडि एउटा आलेख प्रकाशन गरेको थिएँ– ओली कन्जर्भेटिभ हुन्, प्रचण्ड उपयोगीतावादी।
वास्तवमा ओलीको आचरणले त्यही प्रतीत गराउँदै गएको छ। परम्परावादी हुनु नराम्रो होइन। धर्म, कला संस्कृति र इतिहासलाई सम्मान गर्न जान्ने मानिसका केही अवगुण हुन्छन्। ओली पशुपतिनाथ दर्शनका लागि पुग्नु खराब भन्न मिल्दैन, एउटा प्रधानमन्त्री मुलुकका सबै जनताको साझा हुने भएकाले उनले पशुपति पनि जानुपर्छ, जामे मस्जिद पनि पुग्दा हुन्छ। उनका अवगुणलाई टिप्पणी गर्नका लागि अराध्यदेव महादेवको विश्वव्यापी मान्यताको प्रतीक पशुपतिनाथ दर्शनको आलोचना गर्नु उपयुक्त हुँदैन।
के यो आचरण ओलीमा मात्रै छ? पुष्पकमल दाहाल प्रचण्डमा छैन? माधवकुमार नेपालमा छैन? सत्तोश्राप गर्दै जाने हो त? माधव नेपालले केही दिन अघि मात्र भनेका थिए– अब प्रचण्डले क्रान्तिकारी नाम छाड्नपर्छ। उनले आफूलाई पुष्पकमल दाहालमा मात्र ढाल्नुपर्छ। ति माधव नेपाल उनै होइनन् जसले दरबारमा नेपालको रीतअनुसार दाम चढाएको दाबी गर्ने? उनी तिनै होइनन्, पहिलो संविधानसभाका बेला माओवादीले त्यहि तस्बिरको अनेक प्रचार गरेका थिए। उनी तिनै होइनन्, जसको सत्ता गिराउनका लागि मासुभाते आन्दोलन गरी ६ दिन देश अस्तव्यस्त बनाउने? नेपाल बन्द भएका बेला ४० किलो कुखुराको प्रायोजित मासु त हाम्रो पत्रिका बोक्ने गाडीमा राख्न अनुनय विनय गर्ने नेताको नामै किटानी गरेर भन्न सक्छु।
ओलीका टिप्पणीमा असहमति, उनका राजनीतिक हर्कतमा असहमति र आवेग राख्न सकिएला। तर व्यक्तिगत तहको टिप्पणीमा नै पुगिसकेपछि प्रचण्ड–नेपालका भेँडा (प्रचण्डकै भाषा) कार्यकर्तालाई केही फ्ल्यासब्याकमा लैजान आवश्यक छ। र, यो सत्यलाई आम पाठकले पनि बुझ्न आवश्यक छ।
एकीकृत नेकपा माओवादीको ठूलो छवि, क्रान्तिकारी परिवेशका भयानक व्यक्तित्वमा उदाएका नेता प्रचण्ड, जसले धर्म निरपेक्षतालाई बलियो राजनीतिक मुद्दा बनाएका थिए। परम्परावादी हिन्दूत्वको सत्तोश्राप गरिरहेका थिए। उनको उदय नै भैंसीको पुच्छर समातेपछि झन् तिव्र गतिमा शान्तिपूर्ण राजनीतिमा भएको थियो। त्यसलाई देशव्यापी बनाउने पात्र म आफैं भएकाले यो विषयको पृष्ठभूमीलाई यहाँ राख्ने जमर्को गरेको छु।
‘बिनोद, आज प्रचण्डको यो तस्बिरसहितको समाचार व्यानर नै राख्ने कुरा हुँदैछ, यसलाई अझ डिटेल्स्मा पठाऊ त’, राजधानी दैनिकको रात्रीकालिन डेस्क इञ्चार्ज मोहन ढुंगेलले ०६५ साल ताका फोन गरेर भनेका थिए,‘गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डले यतिबेला भैंसीको पुच्छर समातेर पूजा गर्नु भनेको दुनियाँ हल्लाउने समाचार हो।’ सुनसरीको बराहक्षेत्रमा प्रचण्डको सम्बोधन हुने भएपछि इटहरीबाट एक हुल पत्रकारलाई लगेको थियो– एमाओवादीले। त्यहि भिँडमा म पनि पुगेको थिएँ। जसरी न्युज डेस्कबाट डिमान्ड भयो, सोहीअनुसारका डिटेल्स पठाइयो।
प्रचण्डको धार्मिक चिन्तन, परम्परावादी र संस्कृति तिरको झुकाव विस्तारै बढ्दै गयो। प्रचण्डइतरकाले प्रश्नगर्थे,‘किन दशैंको टिका लगाए?’ कतिपयले आलोचना गर्थे,‘बुवाको दागवत्ती पनि जुत्ता र सूटमा दिने, किरियापुत्री नबस्ने यी कस्ता नेता?’ यस्ता अनेक प्रकारान्तरका प्रश्नबाट प्रचण्ड घेरिएनन् होला? आज ओली पशुपतिनाथको दर्शन र पूजामा जाँदा मात्र उनको बाटो बदलियो भनी बदनियतका साथ गरिने टिप्पणी प्रचण्डका लागि भएका होइनन् र?
समाचार प्रकाशन भएपछि तत्कालिन एमाओवादीको केन्द्रीय समिमित बैठकमा प्रचण्डको कडा आलोचना भएको थियो। मोहन वैद्य किरण, रामबहादुर थापा बादललगायतले उनको उक्त कर्मको आलोचना गरेको बैठकमा रिपोर्टिङका लागि सहभागी भएका मित्र जन्मदेव जैसीले फोन गरेरै सुनाएका थिए। सम्भवतः जैसीलाई अहिले पनि यो विषयको स्मरण होला। उनी राजधानीका सहकर्मी भएका नाताले मलाई फोन गरी समाचारको प्रभावकारिताका बारेमा सुनाउँदै ‘बधाई’ दिएका थिए। त्यो समाचारमा प्रचण्डको कुन्डली देखाउने कर्म, डा. बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध विच्छेद हुने भविष्यवाणी लगायतका विषय समेटिएका थिए।
प्रचण्डको धार्मिक चिन्तन, परम्परावादी र संस्कृति तिरको झुकाव विस्तारै बढ्दै गयो। प्रचण्डइतरकाले प्रश्नगर्थे,‘किन दशैंको टिका लगाए?’ कतिपयले आलोचना गर्थे,‘बुवाको दागवत्ती पनि जुत्ता र सूटमा दिने, किरियापुत्री नबस्ने यी कस्ता नेता?’ यस्ता अनेक प्रकारान्तरका प्रश्नबाट प्रचण्ड घेरिएनन् होला? आज ओली पशुपतिनाथको दर्शन र पूजामा जाँदा मात्र उनको बाटो बदलियो भनी बदनियतका साथ गरिने टिप्पणी प्रचण्डका लागि भएका होइनन् र?
धेरै भएको छैन। प्रचण्डले विवाहको ५० औं बर्षगाँठमा खुमलटारमा सीता दाहालसँग पुनःविवाह गरे। ताली पड्काउनेहरू र सामाजिक सञ्जालमा सुसज्जित तस्बिर राखेर महायज्ञ नै गर्ने लम्पट कार्यकर्ताहरू यीनै होइनन् र? त्यसबेला प्रचण्डको आलोचना भएको थिएन र? यो नितान्त व्यक्तिगत चासो र समयको माग पनि हुने गर्दछ भन्ने चिजलाई विर्सन मिल्छ? त्यसबेला कतिपयले टिप्पणी गरी प्रचण्डलाई पार्टीभित्रैबाट के–के भनेका थिए? केही बुँदा यस्ता छन्–
–नेकपाका अध्यक्षले नै द्वन्द्वात्मक भौतिकवादी दर्शन परित्याग गरिसकेको अवस्थामा पार्टीले कागज वा विधानमा मात्र ‘द्वन्द्वात्मक भौतिकवाद’को भारी बोकिरहनु जनतालाई झुक्याउने खेल मात्र हो । पार्टी अध्यक्षको अन्धविश्वासमा आधारित अवैज्ञानिक ‘पुनःविवाह’ गरेर कुनै पनि कम्युनिस्ट पार्टी र कार्यकर्ताले आधारभूत रुपमा निर्देशित रहनु पर्ने द्वन्द्वात्मक भौतिकवाद परित्याग गरेका छन्। अध्यक्षले त्यागेको दर्शन पार्टीले बोकिरहेको विश्वास गर्न सकिन्न। नेकपाले द्वन्द्वात्मक भौतिकवादी दर्शन परित्याग गर्नु भनेको उसले आपूmलाई कम्युनिस्ट दाबी गर्ने आधार गुमाउनु हो। अब नेकपाले आफूलाई कम्युनिस्ट दाबी गर्ने योग्यता राख्दैन। नेकपा कम्युनिस्ट पार्टी नै होइन भन्ने सत्य बिहीबारको घटनाले पुनः पुष्टि मात्र गरेको छ ।
–दाहालले यसप्रकार गतिविधि गरेको यो पहिलोपटक भने होइन। विगतमा पनि उहाँले कालो भैंसी पूजा गर्ने, गाईको पुच्छर समातेर पूजा गर्ने, घर शान्ति गर्ने जस्ता गतिविधि गरेका छन्। कम्युनिस्ट नेता भन्ने तर नाकको टुप्पा मात्र देखिने नहुञ्जेल फूलका माला लगाउने, निधार भरि टिका लगाउने गतिविधि जनताले देखेकै हो। के यो कम्युनिस्टको चरित्र हो? कम्युनिस्टले संस्कृति र धर्मलाई कसरी हेर्ने भन्ने विषयमा धेरै बहस र छलफल भइरहेका छन्। तर प्रश्न यहाँ संस्कृति र धर्मको होइन। अन्धविश्वासको हो। धर्म र संस्कृतिभित्र वैज्ञानिकता खोज्न सकिन्छ। तर, अन्धविश्वास अवैज्ञानिक हो। भैंसी पूजा गर्ने, गाईको पुच्छर समातेर बैतरणी नदी तर्ने, पूजा गरेपछि घरमा शान्ति हुने कुरा पूर्णतः भ्रम हो, अन्धविश्वास हो। प्रचण्ड भौतिकवादी भए किन यस्ता अन्धविश्वासको पछि लागे, अन्धविश्वासी भए किन भौतिकवादी भएको भन्दै हिँडे? प्रष्टतः उनीको पाखण्ड र जनताको आँखामा छारो हाल्ने खेल हो।
–‘तेल के हेर्नु तेलको धारा हेर्नु, नेता के हेर्नु नेताको साथ हेर्नु’ भनेजस्तै दाहालको ‘पुनःविवाह’ को जन्ती गएका नेताहरू पनि दूधको साक्षी बिरालोजस्तै बनेका छन्। नेताले गल्ती नगर्ने होइन। नेता पनि मानिस हो, गल्ती गर्न सक्छ। गल्ती गर्दा नेतालाई सच्याउने जिम्मेवारी कार्यकर्ता र सल्लाहकारहरूको हो। प्रचण्डले कुनै नामुद ठगकै घेरामा परेर ‘पुनः विवाह’ गरे। तर, के नेकपाका नेताहरू र प्रचण्डका शुभचिन्तकहरूले ‘पुनः विवाह’ को झूटबारे सजग बनाउने कर्तव्य होइन? नेताले विष खाँदा अमृत मानेर चुपचाप बस्नु उनीहरूको कर्तव्य हो? अथवा दाहाललाई बदनाम गरेर आफ्नो पालो चाँडै पार्ने खेलमा लागेका छन्, उनीहरू ?
–प्रचण्डमाथिको यस्तो आलोचनाको बचाउमा केही मानिसहरूले ‘व्यक्तिगत विश्वास’, ‘वैयक्तिक स्वतन्त्रता’ को फलाको गर्न सक्छन्। एकजना सर्वसाधारणले यस्तै केही गतिविधि गरे यो आश्चर्यको समाचारमात्र बन्न सक्छ। तर, एकजना नेताले गर्ने यस्ता गतिविधिले समाजको चिन्तन नै प्रभावित हुने गर्छ। नेता भनेका धेरैका लागि आदर्श र उदाहरण पनि हुने गर्छ। के दाहालको सिको गर्दै अब नेकपाका नेता कार्यकर्ताहरूले कोही मानसिक समस्या भएको व्यक्तिको रोग समाधानको लागि ‘पुनःविवाह’ गर्न सक्छन्? भोलि नेकपाका कोही एक नेताले पत्नीको रोग उपचारको लागि अर्को महिलासँग दोस्रो विवाह गरेको तर्क गरे उसलाई कानुनअनुसार बहुविवाहको मुद्दा लाग्ने वा नलाग्ने?
निष्कर्षः यी तमाम् प्रश्नसँग मेरो व्यक्तिगत असहमति छन्। चाहे ओलीका लागि हुन् या प्रचण्डका लागि। तर समयकाल चक्रले प्रश्नहरूको उदयलाई रोक्न सक्तैन। जसरी आज ओलीका अगाडि पशुपति दर्शन एउटा प्रश्न र डिस्कोर्सका रुपमा स्थापित गरी उनको राजनीतिक कदमको आलोचना गर्ने माध्यम बनाइन्छ, समयले प्रचण्डका लागि, माधव नेपालका लागि पनि गरेको थियो। सनातन धर्ममा विश्वास राख्ने, हिन्दूत्वलाई स्वीकार गर्ने, सर्वधर्मलाई प्रेम गर्ने स्कुलिङको हिमायती भएकाले पनि म भन्छु– यस्ता विषयमा आलाकाँचा टिप्पणी र हुर्मत लिने काम सही होइन। त्यहाँमाथि कतिपय मिडियाले त निरन्तरको प्रहारअनुसार यसलाई एउटा कठोर मुद्दा बनाउँदा उदेक लाग्छ। त्यसबेला प्रचण्डले भैंसीको पूजा गर्नु स्वभाविक प्रश्न थियो तर अहिले ओलीले पशुपति दर्शन गर्नु अस्वभाविक आचरण विल्कुलै होइन।

