‘हनी ट्रयाप’: तेस्रो भेटपछि ४५ लाख माग !

विशेष गरी समाजका प्रतिष्ठित, व्यापारी र आर्थिकरुपले सम्पन्न व्यक्ति 'टार्गेट'मा


काठमाडौंलगायत विभिन्न ठाउँमा होलसेलमा सामान बेच्ने एक व्यापारी, जो व्यापारकै शिलशिलामा उपत्यकाकै विभिन्न पसलहरुमा पुग्ने गर्दछन् । सामान दिनु अनि पैसा उठाउनुको उनको दैनिकी हुन्छ ।

यसै क्रममा राजधानीको चाबहिलस्थित एक पसलमा पैसा उठाउन गएको बेला चप्पल किन्न आएकी एक युवती भेट हुन्छिन् । ती युवती व्यापारीसँग परिचय गर्छिन्, अनि आफूलाई काननु व्यवसायी अथवा वकिल भएको परिचय दिन्छिन् ।

कुराकानीकै क्रममा व्यापारी र युवतीबीच फोन नम्बर साटासाट हुन्छ अनि सामाजिक सञ्जालमा पनि जोडिन्छन् । अनि छुट्टिन्छन् । भोलिपल्ट व्यापारीको मोबाइलमा फोन बज्छ, तिनै युवती, जसले चाबहिलबाट एकजोर चप्पल किनेर व्यापारीको नम्बर लिएर हिँडेकी थिइन् । फोनवार्तापछि युवती चप्पल नमिलेको भन्दै व्यापारिलाई चाबहिल नै बोलाई रेष्टुरेन्टमा भेट हुन्छ, त्यो दिन असार १८ । दोस्रोभेट, युवती व्यापारिसँग आफ्ना समस्या सुनाउँछिन्, म्यानपावरमा भएको र मानसिक तनाब धेरै भएको भन्दै व्यापारीको सहानुभूति बटुल्छिन् । उता व्यापारी युवतीको ट्रयापमा परिसकेका हुन्छन् । त्यसपछि एयरपोर्ट नजिकको एक होटलमा पुग्छन्, होटलमा बस्दै गर्दा युवतीले घर जान मन नभएको सुनाएपछि ठमेल जान्छन्, खाजा खान्छन् र छुट्टिन्छन् ।

त्यसपछि असार २० गते तेस्रो भेट, काठमाडौं मल अगाडि । यसपटक पनि युवतीकै फोनमा व्यापारी काठमाडौं मल पुग्छन्, उनले अदालतमा बहस गरेर आएको र टाउको दुखेको नाटक गर्दै व्यापारीलाई गहनापोखरीस्थित एक क्याफे हुँदै पुनः ठमेलको होटलमा लैजान्छिन् । व्यापारी पैसा तिर्न होटलको काउन्टरमा जाँदा एकाएक युवती फरार हुन्छिन् ।

लगातार तीनदिनसम्म युवतीको ट्रयापमा परिसकेका व्यापारीको होस जब उड्छ तब असार २१ गते फोन आउँछ, राजधानीको विभिन्न होटलमा लगेर आफ्नी दिदीलाई बलात्कारको गरेको भन्दै युवतीको भाई बनेर श्रीमान्ले नै फोन गर्छन् । अनि, युवतीका श्रीमानले भाई हुँ भन्दै दिदी आइसियुमा भएको र कानुनी दायरामा ल्याउने धम्की दिन्छ ।

त्यसपछि शुरु हुन्छ धम्की दिने शृङ्खला । कहिले युवती, कहिले उनका श्रीमान त कहिले नक्कली प्रहरी निरीक्षक । उनीहरुले माग्छन्, ४५ लाख । ३ दिनको भेट फिरौती ४५ लाख, अर्थात् १ दिन भेटेको १५ लाख ! तर, विवश व्यापारीले ५० हजार ती युवतीको खातामा पठाइदिए ।

बार्गेनिङ गर्दै जाँदा १० लाखमा सबै केस मिलाउने भने । यदि नदिएमा परिवारै सखाप पार्ने धम्कीपछि व्यापारीले साथ खोजे प्रहरी प्रशासन, अनि बल्ल घटना बाहिरियो ।

पात्र उही पीडित अर्का,

तिनै युवतीबाट सोही व्यहोराको घटनाक्रमबाट एक चर्चित पत्रकार पनि शिकार बनेको जनाइएको छ । मुलुककै चर्चित पत्रकार र सञ्चार व्यवसायीसमेत रहेका ती व्यक्तिले आफू शिकार बनेको भन्दै बौद्धवृत्तमा उजुरी दिए । फसाउने प्रक्रिया एउटै र अनुसन्धानमा एउटै व्यक्तिको संलग्नता ।

ती दम्पतीविरुद्ध यसअघि पनि साइबरक्राइममा दुईवटा मुद्दा परेको थियो । एउटा तामेलीमा र एउटा मुद्दामा सफाइ पाएको प्रहरी अभिलेख छ ।

यी त एउटा बाहिरिएको प्रतिनिधी घटना मात्रै हो ।

नेपालमा पछिल्ला दिनमा ‘हनी ट्रयाप’मा परि फस्नेहरु बढ्दै गएका छन् । प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा धेरै उजुरी परेका छन् । यस्ता घटनामा पुरुष मात्रै शिकार बनेका छन् । कतिले कैयैं सम्पत्ति गुमाएका छन् भने कतिले मानसिक तनाब भोगेका छन् ।

नेपाल प्रहरीको तथ्यांकमा हनी ट्रयापलाई प्रहरीले आपराधिक लाभ लिन नहुने कसुरका रुपमा परिभाषित गरेको छ । प्रहरीको रेकर्डमा यसै वर्ष मात्र ३ वटा मुद्दा दर्ता भएको छ । गत असार २ गते २ पुरुष र २ महिलाबाट २ पुरुष पीडित बनेका छन् भने साउन २ गते पनि २ पुरुष र १ महिलाबाट २ जना पुरुष पीडित बनेका छन् । त्यस्तै साउन १२ गते दर्ता भएको एक मुद्दामा १ पुरुष र १ महिला अभियुक्त रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म ४ वटा मुद्दामा ६ जना पुरुष पीडित छन् भने अभियुक्त पनि पुरुष ६ र महिला ६ गरी १२ जना रहेका छन् ।

प्रहरीका अनुसार ट्रयापमा पार्नका लागि उनीहरुले विभिन्न तरिका अपनाउने गरेका छन् । प्रहरीका अनुसार सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्तिहरुसँग कुराकानी गर्ने, सामाजिक सञ्जालको माध्यमबाट अश्लील कुरा गर्ने गर्दछन् । त्यस्तै होटल रेष्टुरेन्टमा गई चिया नास्ता खाँदै अन्तरंग क्रियाकलाप गरी अश्लील क्रियाकलाप गर्दै गोप्य भिडियो बनाउने, अनि त्यसकिसिमको भिडियोलाई परिवारलाई पठाइदिन्छु भन्दै धम्की दिने गरेको पाइएको छ ।

अधिकांशले आफूलाई साईबर ब्यूरोको प्रहरी अधिकृत वा अन्य कुनै कार्यालयका प्रहरी अधिकृतको आफन्त बनाई मानसिक तनाब दिई रकम असुल्ने गरेको पनि जनाइएको छ ।

प्रहरीले यस किसिमको घटनाबाट बच्नका लागि विशेष गरी अपरिचित व्यक्ति अचानक नजिक हुन खोज्नु नै पहिलो प्रयास भन्ने बुझ्नुपर्ने बताएको छ । त्यस्तै यस किसिमका व्यक्तिहरुले विशेष गरी समाजका प्रतिष्ठित र आर्थिक रुपले सम्पन्न व्यक्तिहरुलाई टार्गेट गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

कतिपयले मागेजति पैसा नदिए मानसिक तनावदेखि ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् । यसलाई प्रहरीले हनी ट्रयाप भनेको छ ।

प्रतिक्रिया