

‘हनी ट्रयाप’मा पारेर पत्रकार र व्यापारी ठग्ने श्रीमान्–श्रीमती धरौटीमा रिहा

काठमाडौं – ‘हनी ट्रयाप’मा पक्राउ परेका श्रीमान्–श्रीमती धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत काठमाडौंले न्यूरोडका एक जुत्ताचप्पल होलसेल व्यापारीलाई ३ पटकको भेटपछि ४५ लाखको बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका सिन्धुली कमलामाई नरपालिका–६ की ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्कालाई जनही १ लाख ५० हजार धरौटीमा छाडेको हो ।
बस्नेत र खड्कासँगै उक्त घटनामा नक्कली प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेका सञ्जय कार्कीलाई पनि प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो । अदालतले कार्कीलाई भने १ लाख धरौटीमा छाडेको छ ।
उनीहरु साउन १ गते न्यूरोडका एकजना व्यापारीलाई ‘ब्ल्याक मेलिङ’ गरेर ४५ लाखको बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका थिए । ती व्यापारीसँग चाबहिलस्थित एक खुद्रापसलमा भेट भएपछि कल्पनाले चिनजान गर्दै विभिन्न स्थानमा ३ पटकसम्म भेट गरेकी थिइन् । कल्पनाले ती व्यापारीसँग आफूलाई सर्वोच्च अदालतमा बहस गर्ने वकिल भन्दै परिचय दिएकी थिइन् ।
भेटका क्रममा उनीहरुले चाबहिल, एयरपोर्ट, गहनापोखरी र ठमेलको होटलसम्म पुगेको जनाइएको छ । आफूलाई म्यानपावर व्यवसायी भएको र तनाबमा रहेको भन्दै व्यापारीसँगै नजिकिएकी कल्पनाले विभिन्न ठाउँको भेटपछि ती व्यापारीलाई धम्की दिएकी थिइन् ।
तेस्रोपटकको भेटपछि कल्पनाले आफ्ना श्रीमानलाई ‘भाई’ भन्दै बलात्कारको आरोप लगाएर बार्गेनिङ गरेकी थिइन् । ४५ लाख मागेकी कल्पनाको खातामा ती व्यापारीले सुरुमा ५० हजार पठाएको र बार्गेनिङकै क्रममा १० लाखमा ‘डिल’ भएको थियो । परिवार नै सखाप बनाउने धम्की पाएपछि ती व्यापारी प्रहरीकोमा पुगेका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरूले प्रहरीमा उजुरी दिएको नाटक गर्दै सञ्जय कार्कीलाई प्रहरी निरीक्षक बनाएर फोन समेत गर्न भ्याएको खुलेको प्रहरीले बताएको थियो । ती इन्स्पेक्टर शान्ति मिसनमा जाने भएकाले तत्काल केश मिलाउन दबाब दिने गरेको पनि व्यापारीले प्रहरीसँगको बयानमा खुलाएका थिए ।
कल्पनाविरुद्धका एक चर्चित पत्रकारले पनि आफू हनी ट्रयाममा परेको भन्दै बौद्ध वृत्तमा उजुरी दिएका थिए ।

