महानगरका मेयर

गठबन्धन ५ महानगरमा आउँदा एमाले 'क्लिनस्वीप'


काठमाडौं – वैशाख ३० मा सम्पन्न मतदानको करिब १३ दिनपछि मतगणनाको परिणाम अन्तिम चरणमा आइपुगेको छ ।

देशभरका ७५३ स्थानीय तहमध्ये केहीमा मात्रै मतगणनाको काम बाँकी रहेको छ । मतगणना बाँकी रहे पनि आगामी ५ वर्षका लागि नेतृत्वको लगभग पक्का भइसकेको अवस्था छ ।

नेपालमा रहेका ६ वटा महानगरमध्ये ५ वटामा मतगणना सम्पन्न भइसकेको छ भने १ वटामा अन्तिम चरणमा रहेको छ । तर मतगणना हुन बाँकी काठमाडौंमा पनि जित्ने उम्मेदवारको टुंगो लागिसकेको अवस्था छ । खाली अन्तिम मतपरिणाम मात्र आउन बाँकी रहेको हो । अहिलेको अवस्थामा गणना गर्न बाँकी मतभन्दा अग्रता लिएका उम्मेदवार र निकटतम प्रतिस्पर्धीको मतान्तर बढी रहेकोले प्राविधिक रूपमा काठमाडौंमा बालेनको जित निश्चित भएको हो ।

यसपटकको स्थानीय तहमा देशभरका महानगरको चुनाबी अवस्था यस्तो छः

नागेश कोइराला, विराटनगर

विराटनगर प्रदेश नं. १ मा रहेको एकमात्र महानगरपालिका हो । नेपाली कांग्रेसको पकेट महानगरको रुपमा परिचित विराटनगरमा यसपटक नेपाली कांग्रेसका उम्मेदवारले नै बाजी मारे । ५ दलको गठबन्धनबाट नेपाली कांग्रेसको भागमा परेको विराटनगर नगरप्रमुखमा नेपाली कांग्रेसले जित हात पारे पनि उपमेयरमा भने एमाले उम्मेदवारले जित हात पारिन् ।

विराटनगर मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत ल्याउँदै बाजी मारे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत ल्याउँदा विराटनगरमा राप्रपाका उम्मेदवार प्रल्हाद प्रसाद साह हलुवाईले ५ हजार २१६ मत ल्याएका थिए ।

विराटनगर उपमहानगरमा नेकपा एमालेकी शिल्पा कार्कीले उपमेयरमा बाजी मारेकी छिन् । उनले गठबन्धनकातर्फबाट टिकट पाएका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अमरेन्द्र यादवलाई पराजित गरेकी थिइन् । कार्कीले २५ हजार ६८० मत ल्याउँदा गठबन्धनका शीर्षनेता उपेन्द्र यादवका पुत्र समेत रहेका अमरेन्द्रले १४ हजार २१९ मत ल्याएका थिए ।

१९ वटा वडा रहेको विराटनगरमा कांग्रेस र एमालेले ७/७ वडाध्यक्षमा जित हात पार्दा जनता समाजवादी पार्टीले २, राप्रपा १ र एउटा वडा स्वतन्त्रले जित हात पारेका छन् ।

चिरिबाबु महर्जन, ललितपुर

उपत्यका राजधानी काठमाडौंपछिको अर्को महानगर ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन महानगर मेयरमा पुनः निर्वाचित भएका छन् ।

महर्जनले ४२ हजार ७२२ मत ल्याएर ललितपुर महानगरमा पुनः निर्वाचित भएका हुन् । उनी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पराजित गर्दै महानगर नेतृत्वमा दोस्रोपटक निर्वाचित भएका हुन् । ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाए । महर्जनले गत स्थानीय निर्वाचनमा पनि ब्यञ्जनकारलाई ३ सय २६ मतले पराजित गर्दै ललितपुर महानगरको इतिहासमा पहिलो मेयर बन्न सफल भएका थिए ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य निर्वाचित भइन् । उनले २५ हजार ८४ मत ल्याएर जित हासिल गर्दा निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए ।

२९ वटा वडा रहेको ललितपुरमा ८५ हजार ९६५ मत खसेको थियो । जम्मा २९ वटा वडा रहेको ललितपुर महानगरपलिकामा ४, ६, ७, ८, ९, १०, ११, १४, १६, २० र २८ वडासहित ११ वटा बडाको प्रमुखमा नेपाली कांग्रेसले विजयी भएको छ । त्यस्तै वडा नं. ५, १२, १५, १७, १८, १९, २२, २३, २४, २५, २९ सहित ११ वटामै नेकपा एमाले विजयी भएको छ ।

यस्तै २१, २६ र २७ जम्मा ३ वटा वडामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । वडा नम्बर १ र १३ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् भने वडा नम्बर २ र ३ एकीकृत समाजवादीले जीत हात पारेको छ ।

रेणु दाहाल, भरतपुर

यस स्थानीय निर्वाचन सबैभन्दा चर्चित रहेको भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएकी रेणु दाहाल अत्याधिक मतसहित विजयी भएकी छिन् । रेणुले गत स्थानीय तह निर्वाचनमा भन्दा करिब १० हजार बढी मतल्याएर विजयी भएकी हुन् । दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई साढे १२ हजार भन्दा बढी मतको फरकमा पराजित गरेकी हुन् । दाहालले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९५८१ मत ल्याएका थिए ।

पार्टीको निर्णयबाट असन्तुष्ट रहेर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याएर विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार बढी मतान्तरले पराजित गरेका छन् । गुरुङले ३०६१२ मत ल्याएकी छिन् ।

२९ वटा वडा रहेको भरतपुरमा यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले १६, एमालेले ६, एकीकृत समाजवादीले ३, माओवादी केन्द्रले ३ र स्वतन्त्रले १ वडामा जित हात पारेका छन् ।

धनराज आचार्य, पोखरा

गण्डकी प्रदेशको राजधानीसमेत मानिएको पोखरा महानगरपालिकामा यसपटक नेकपा एकीकृत समाजवादीका उम्मेदवारले जित हात पारेको छ । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एसका धनराज आचार्यले नेकपा एमालेका कृष्णबहादुर थापालाई ठूलो मतान्तरले हराउँदै नेकपा एसलाई एउटा महानगरको नेतृत्व दिलाएका हुन् ।

आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा थापाले भने ५२ हजार ८४८मत ल्याएका थिए । नगरप्रमुखमा नेकपा एसले जित हात पारे पनि उपप्रमुखमा भने नेकपा एमालेले जित हात पारेको छ । निवर्तमान उपप्रमुखसमेत रहेकी मञ्जुकुमारी गुरुङले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कोपिला रानाभाटलाई पराजित गर्दै उपप्रमुखमा दोहोरिएकी हुन् । गुरुङले ६० हजार ५४६ मत ल्याउँदा कांग्रेसकी रानाभाटले ५६ हजार ६६३ मत ल्याएकी छिन् ।

३३ वटा वडा रहेको पोखरामा नेपाली कांग्रेसले २२ एमालेले १० वटा वडाध्यक्षले जित हात पारेका छन् । वडा नं. २२ मा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।

राजेशमान सिंह, वीरगञ्ज

मधेश प्रदेशको एकमात्र महानगर वीरगन्जको नयाँ नेतृत्व चयन भएको छ । वीरगञ्जको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । नेपाल समूदायका सिंहले वीरगञ्ज जस्तो मधेसी समूदायमा गएर निर्वाचित हुनुमा आम जनताले पहाडी र मधेसी समूदायबीचको सामीप्यता र मित्रताको अर्को नमूना भएको पनि विश्वास गरेका छन् ।

सिंहले ४६ हजार २ सय १५ मत ल्याएर निर्वाचित हुँदा एमालेका विजय सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् । राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् । सिंहले निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै सिंह मेयरमा निर्वाचित भएका हुन् ।

उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका आलम उपमेयरमा निर्वाचित भएका हुन् । आलमले ३० हजार ७८ मत ल्याउँदा लोसपाका झाले ९ हजार ५ सय ६८ मत ल्याएका थिए ।

महानगरका ३२ वटै वडामध्ये जनता समाजवादी पार्टी नेपालले १२, नेपाली कांग्रेस र नेकपा एमालेले ९र९ वटामा जित हात पारेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीले २ वडामा जित हात पारेको छ ।

बालेन्द्र शाह, काठमाडौं

यसपटकको स्थानीय तह निर्वाचनमा सबैभन्दा अप्रत्याशित नतिजा देशको केन्द्रीय राजधानी काठमाडौंले दियो । मतदानको अघिसम्म प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसबीचमात्रै प्रतिस्पर्धा देखिएको काठमाडौंमा मतदानपछि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाले सबैलाई अचम्मित तुल्यायो, तर त्यो क्रम मतगणना सम्पन्न हुँदासम्म कायमै रह्यो । फलस्वरुपः राजधानीले क्रान्ति गर्यो, दुई राजनीतिक दलका उमेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहले जित निश्चित गरे । मतदानको १३ औं दिनसम्म चलिरहेको मतगणनामा सुरुदेखि अग्रता लिँदै आएका बालेनले अन्तिमसम्म पनि ठूलो मतान्तरको जित हात पार्ने निश्चित नै भइसकेको छ ।

पछिल्लो तथ्यांकअनुसार काठमाडौं महानगरपालिकामा कूल १ लाख ९१ हजार १२५ मत खसेकोमा अहिलेसम्म १ लाख ७१ हजार ८०२ मतको गणना भइसकेको छ । अब १९ हजार ३२३ मत मात्र गणना गर्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । यतिबेला बालेनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहसँग २० हजार ३७६ मतको अग्रता बनाएका छन् ।

गणना हुन बाँकी मतभन्दा बालेन शाहले निकटतम प्रतिस्पर्धीसँग बनाएको अग्रता बढी भइसकेकोले बालेन निर्वाचित भइसकेका हुन् । किनकि अब गणना गर्न बाँकी भोट सबै सदर भएर सबै मत एउटै उम्मेदवारले पाएको अवस्थामा पनि बालेनलाई भेटाउन सक्ने सम्भावना समाप्त भइसकेको छ ।

अहिलेसम्मको गणनामा बालेनले ५५ हजार ७४७ मत पाएका छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सृजना सिंह श्रेष्ठले ३५ हजार ३७१ मत पाएकी छिन् । एमालेका केशव स्थापितले ३४ हजार ६२६ मत पाएका छन् । काठमाडौंको कोर एरियामा राम्रो मत पाएका अर्का  स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार ३२२ मत पाएका छन् ।

नेकपा एमालेबाट उम्मेदवारी दिएका पूर्वमेयर केशव स्थापित र नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई भारी मतान्तरले पराजित गर्दै शाहले काठमाडौंबासीसँगै विश्वमै ‘सरप्राइज’ दिए ।

काठमाडौंको उपमेयरमा भने नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोल विशाल मतान्तरले विजयी बन्ने निश्चित भइसकेको छ । डंगोलले ६० हजार ६ सय ७५ मत ल्याउँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २० हजार ६ सय ६८ मत ल्याएका छन् । डंगोलले ल्याएको मत श्रेष्ठको भन्दा ४० हजार बढी मत हो, जबकी अब गणना गर्न बाँकी १९ हजार ३२३ मत छ । यसरी हेर्दा डंगोलको जित पक्का भइसकेको छ ।

३२ वटा वडा रहेको काठमाडौंमा नेपाली कांग्रेसका उम्मेदवारले १७ वटा वडामा जित हात पारेका छन् भने नेकपा एमालेका ११ वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । काठमाडौं महानगरका १३, १४, १५, १६, १७ र १८ वडामा मतगणना जारी नै रहेको छ ।

प्रतिक्रिया