‘राज’ मात्र भइरहेको ‘राजनीति’ले देखोस् भुइँमान्छेका सपना


अहिले जता निस्किन्छु कानमा गुन्जिहाल्ने शब्द हो राजनीति अनि चुनाव । स्कुल कलेजमा राजनीति, सार्वजनिक यातायातमा राजनीति, चिया पसलमा राजनीति, गाउँमा जाउँ राजनीति, सहरमा जाउँ राजनीति । हरेक प्रकारका सोसल मिडियामा राजनीति । जताततै राजनीतिको चर्चाले मलाई पनि बुझ्न मन लाग्यो । के हो राजनीति भनेको र यो किन गरिन्छ । राजनीति कस्का लागि गरिन्छ । तब आफै खोज्न थालँे धेरै ठाउँमा राजनीतिको अर्थ ।

धेरै परिभाषा भेट्टाएँ । राज्यको मूल नीति राजनीति हो । त्याग, समर्पण अनि परिवर्तनको महायज्ञ राजनीति हो । सम्पुर्ण शक्ति जनताको हितअनुरुप सेवा गर्नु नै राजनीति हो । विशेष उद्देश्य प्राप्तिको लागि र दिगो परिबर्तनका लागि गरिने अग्रगामी परिवर्तन हुन्छ भने त्यस्लाई राजनीति भनिन्छ । सम्प्रदाय, सहर वा देश जस्ता समुहहरुले राजनीति मार्फत सहमति कायम गर्दछन् । समाजमा वा देशमा त्यस्ता समझदारिका लागि केहि मानिसहरुले निक्कै समय खर्च गर्दछन् । त्यस्ता मानिसहरुलाई राजनेता वा नेता भनिन्छ । त्यस्ता नेताहरु सँगै केहि अन्य मानिसहरु मिलेर सरकार बन्दछ ।

विश्वमा तीन प्रकारको राजनीति अर्थतन्त्र रहेको छ । पुँजीवादी, समाजवाद र मिश्रित अर्थतन्त्र । नेताले जनताको हक अधिकारको लागि गर्ने त्याग, समर्पण नै राजनीति हो । तर अहिले राजनीति एउटा कुशल नीति नभएर ‘राज’ मात्र भईरहेको छ । दशकाँैको राजनैतिक इतिहासलाई सामान्य रुपमा हेर्दा दावाको साथ भन्न सकिन्छ कि यो देशमा जुन रवाफमा राजनैतिक परिबर्तन भईरहेको छ त्यो गतिमा शैक्षिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक बिकासमा आशा गर्न लायक अनुरुपको प्रगति पटक्कै पाउन सकेको छैन । साम, दाम, दण्ड, भेद प्रयोगको बलमा कुर्चि अनि सत्ताको लागि शक्ति प्रदर्शन गरेर लाजनीति गरिरहेको भेटिरहिन्छ ।

महिनावारी बिदाभन्दा पनि महिनावारी भएको नारीलाई सस्तो अनि सुलभ मुल्यमा प्याड उपलब्ध गराईयोस् । महिला आरक्षण कोटाको लागि भन्दापनि महिलालाई पुरुष समान सक्षम बनाउनको लागि कोसिस गरियोस् ।

हरेक ठाउँमा चुनाब लागेको छ । अब पाँचबर्ष पश्चात गाउले थुप्रै युवा आफ्नो सामिप्यतामा पाउँछ । पाँच बर्षसम्म पिडामा बसेका जनताहरुलाई पाँचबर्ष पछि पाँच दिनका लागि गाउँ फर्किनेहरुले यो राम्रो छ यस्मा भोट हाल्नुस् भन्दै खुब ठुलो चहलपहल दिन्छन् । आफ्नै घर मिलाउन नसक्नेले देश मिलाउने तर्क दिन्छन् । आफ्नै परिवार कुन अवस्थामा छ थाहा नहुनेहरु देशको मुहार परिवर्तन गर्ने सपना देखाउँछन् । अनि हामि आखाँ चिम्लेर बेहोसिमा आफ्नो मतको दुरुपयोग गर्न पुग्छौँ । कहिले आफ्नाको लागि त कहिले आफ्नो लागि भुकम्प र कोरोनाको चक्रब्युको भुमरीमा नमज्जासँग रुमलिएको पिडा सजिलै बिर्सन पुग्छौँ । गाउँको बिकासलाई चटक्कै बिर्सिएर आफ्नो नेतृत्व राम्रो र अरुको नेतृत्व बिल्कुल खराब भन्न कति हिच्किचावट हुन्न हामीलाई ।

लोकतन्त्रमा यसो हुनु पर्ने, गणतन्त्रमा यसो नहुनुपर्ने ,प्रजातन्त्रमा यो कुरा जायज हो भनेर खुब मिठो भाषण सुनिन्छन् । खुब धेरै अधिकार अनि न्यायका कुरा अगाडि आउँछन् । तर पछिल्लो धेरै अवस्थालाई हेर्ने हो भने कमजोर र गरिबका लागि न्याय ‘भिर मौरीले भिरमा बनाएको मह जस्तै भएको छ । छन त छ तर जो कोहि मह झिक्न जाने हिम्मतनै गर्न सक्दैन । कसैले हिम्मत गर्छ । मह नजिक पुग्छ । महलाई हातले झिक्छ तर रस जति भिरमै झर्छ । हातमा खोक्रो चाक्ला मात्रै बाँकी रहन्छ ।’

यस्तो छ मेरो देशको अवस्था । ईतिहासको पाना पल्टाएर हेर्दा १९१३ मा स्थापना भएको प्रजा परिषद पार्र्टी पहिलो पार्र्टी हो जस्ले २००७ सालमा राणा शासनको अन्त्य गरेको थियो । त्यसपछि बिकासक्रम सँगै अगन्य पार्र्टीको स्थापना भयो । जति पार्र्टीको खाँचो नै छैन देशको लागि । देशको लागि कम्युनिष्ट र डेमोक्रेटिक दुईवटा शासन पद्दति मात्र जरुरी थियो । तर यहाँ नीजि स्वार्थ, कुर्चिको लोभ अनि पहुँच र शक्ति प्रदर्शनको लागि अगन्य पार्र्टी स्थापना भए ।

आफ्नो हैकम जमाउनको लागि पार्र्टीभित्र पनि उपपार्र्टी स्थापना भए, अनि अझ भन्छन् हामि देश बनाउछौँ । यहाँ राजनीतिमा यसरी खेलिरहेका छन् कि बिपक्षसँग हार्दैनन् तर आफु भित्रै आफैसँग र आफ्नासँग पराजित भईरहेका छन् । जुम्राको रिशले धोति पोल्छन् अनि आफू टाउके बन्न नयाँ पार्र्टीको स्थापना गर्छन् । राजनीति यति घिन लाग्दो खेल बनेको छ कि आज अभिभावकले कुनैपनि छोराछोरी नेता बनोस् भन्ने चाँहदैनन् । सबैको दिमागमा यहि छाप छ कि नेता भनेको नपढ्ने, खराब मान्छे, गलत संगत, अरु काम गर्न नसकेर राजनीति गर्ने भन्ने बुझिन्छ । आफ्नो पार्टी समर्थनको लागि आफ्नाले गरेको गल्ति बिरोध गर्न नसक्नु र ढाकछोप गर्ने प्रबृत्ति रहेको छ ।

नाताबाद र कृपाबादको प्रवृत्तिले ठिकलाई बेठिक र बेठिकलाई ठिक भन्ने लर्को भेटिएको छ । अब यस्तो प्रवृत्ति अन्त्यको लागि तपाईले मैले अनि हामि सबैले सोच्नु एकदम जरुरी छ । राष्ट्र र राष्ट्रियताको सवालमा , मेरो परिवार, हाम्रो समाज र हामी सबैको देशको विकासको सवालमा जनलहर ल्याउन जरुरी छ । हो हामी परिवर्तन चाहन्छाँै । तर परिवर्तनको नाममा कतै हामीले हाम्रो स्वाभिमान र राष्ट्रभक्तिलाइ खल्बलाएका त छैनौ ? यो हामि सचेत नागरिकले सोच्नु जरुरि छ ।

हामी पार्र्टीको पाँचबर्षे स्पष्ट योजना चाहन्छाँै । योजना देखाएर आशा लाग्दो भिजन देखाएर जनताको मन जित्नुस् । तिज, तिहार दशैको जस्तो कन्सर्ट देखाएर, भोज खुवाएर भोट माग्न नआउनुस् । अनि सचेत नागरिक यो चुनावमा ब्यक्तिगत स्वार्थलाई भुलेर देश अनि समाजको लागि केहि सोच्नुस् ।

म चाहन्छु यो चुनावपछि देशमा धेरै परिवर्तन होस् । देशमा अझ अग्ला र ठुला भ्यू टावर बनुन् । जुन टावरको उचाइमा पुगेर हेर्दा धेरै विकट ठाउँहरु देखियोस् । रुकुम, हुम्ला, जुम्ला तथा कर्णाली जस्तो नेपालका हर कुनाका ठाउँका मानिसहरुको औषधि उपचारको लागि छट्पटावट् देखियोस् । शिक्षाको लागि ३,४ दिनको यात्रा गरेर परिवारसँग सम्पर्कविहिन जस्तै भई राजधानी धाउनुपर्ने अवस्था देखियोस् । भोक मेटाउनको लागि दिनभर दुःख र पसिना बगाई आधापेट खाना र पानीले भोक मेटाउन बाध्य भएको अवस्था देखियोस् । अझ भनाँै सम्पुर्ण मर्म, पिडा वा यथार्थ भोगाइ देखियोस् ।

निर्वाचनको लागि राज्यकोषबाट खर्चिने रकममा हामी सम्पुर्ण नेपालिको रगत, पसिना, परिश्रम, सपना र कठिन भोगाई मिसिएको कारण चुनावको खर्चले चुनाव पश्चात सबैको मुहारमा मुस्कान देख्न सकियोस् । त्यसैले हामी जनतालाई महङ्गा सपना होईन यथार्थताको धरातलमा उभिएर सपना देखाउनुस् । हामी नेपाललाई अमेरिका, सिङ्गापुर, जापान जस्तो होईन नेपाललाई नेपाल जस्तै भएको हेर्न चाहन्छौँ ।

हामी नेपाली जनातालाई अहिलेको परिस्थितिमा हाम्रो देशमा रेल मार्ग र पानिजहाज भन्दा पहिले सार्बजनिक यातायातमा आनन्दसँग जाममा नपरी यात्रा गर्न सक्ने सहज वातावरण उपलब्ध गराईयोस् ।

भित्ताहरुमा धनभन्दा बिद्या ठुलो भनेर लेखिएको ठाउमा फि तिर्न नसकेकै कारण कुनै बिद्यार्थी स्कुल र कलेजबाट निस्कासित हुन नपरोस् । अनि पैसाकै कारण कुनै पनि विद्यार्थी पढाईबाट बञ्चित हुन नपरोस् । देशको सरकारी कलेज सक्षम देशभक्त जनशक्ति उत्पादन गर्ने थलो बनोस् । केबल कार्यकर्ता मात्र उत्पादन गर्ने थलो नबनोस् । सरकारी बिधालय भन्दा प्राईभेट स्कुल र कलेज राम्रा हुन्छन् भन्ने भनाई आगामी दिनहरुमा सुन्न नपरोस् ।

नेताहरुलाई सामान्य रोगको उपचार गर्न राज्यकोषबाट बिदेशमा उपचार गर्न जाने सुबिधा भइरहदाँ यहाँ स्वदेशमा सिटामोलको अभावले नागरिकको मृत्यु नहोस् । बिरामी हुदाँ अझ भनौँ सुत्केरी हुनकै लागि प्रमुख सहर काठमाडौं, पोखरा, धनगढी, भरतपुर भन्दै खोज्न नपरोस् । भेन्टिलेटर र आईसियूमा बिरामी राख्न सोर्सफोर्सको आवश्यकता नपरोस् ।

महिनावारी बिदाभन्दा पनि महिनावारी भएको नारीलाई सस्तो अनि सुलभ मुल्यमा प्याड उपलब्ध गराईयोस् । महिला आरक्षण कोटाको लागि भन्दापनि महिलालाई पुरुष समान सक्षम बनाउनको लागि कोसिस गरियोस् ।

घरघरमा ग्याँसको पाइप चाहिन्न तर प्रत्येक घरको धारामा पानी देख्न पाईयोस् । प्रत्येक घरमा रातमा पनि उज्यालो देख्न पाइयोस् ।

नेपालको कृषकले तरकारी बारिमा आगो लगाउनु पर्ने अनि बिदेशबाट तरकारी आयात गर्ने प्रबृतिको अन्त्य होस् । भएको उद्योगधन्दा सुचारु होस् र युवालाई बिदेश जान रोकियोस् ।

नेपाल सगरमाथाको देश, भगवान गौतम बुद्धको देश, बिर गोर्खालीको देश, जलस्रोतका धनीे देश, स्वतन्त्र देश भनेर अझै चिनियोस् । सस्तो श्रमिक पाउने देश, बैदेशिक ईशारामा चल्ने देश भनेर नचिनियोस् ।

रोग, भोक, शिक्षा, स्वास्थ्य,रोजगारी जिर्ण अवस्थाबाट मुक्त होस् र अन्याय अत्याचार, शोषण, दमन, कुसंस्कार र कुरितिलाइ चिर्दै सभ्य समाजको निर्माण होस् । नेतृत्वको ब्यक्ति वा नेताहरुको बोलिमा सच्याई होस् । प्रतिबद्धता होस् । कटिबद्धता होस् । यथार्थता होस् ।

निर्वाचनको लागि राज्यकोषबाट खर्चिने रकममा हामी सम्पुर्ण नेपालिको रगत, पसिना, परिश्रम, सपना र कठिन भोगाई मिसिएको कारण चुनावको खर्चले चुनाव पश्चात सबैको मुहारमा मुस्कान देख्न सकियोस् । त्यसैले हामी जनतालाई महङ्गा सपना होईन यथार्थताको धरातलमा उभिएर सपना देखाउनुस् । हामी नेपाललाई अमेरिका, सिङ्गापुर, जापान जस्तो होईन नेपाललाई नेपाल जस्तै भएको हेर्न चाहन्छौँ ।

नेताहरुले आफ्ना सहजिकरणको लागि, गठबन्धन गरेर होस् वा पैसा, पावर अनि शक्तिले जित्ने तरिकाले आफ्ना मान्छे उठाएका छन् । केवल जनताको आखाँमा धुलो हाल्नको लागि मात्र प्रतिस्पर्धा देखाएका छन् । नेताले आफ्नो लागि सोचिसकेका छन् । अब सोच्ने पालो हामी जनताको हो ।

बाचा गरौँ अब हामी सचेत नागरिकहरु आफ्नो पार्र्टी अनि आफ्नो मान्छे रोज्ने बाहानामा राम्रा अनि समाजको हित गर्ने मान्छे गुमाउने छैनौँ । यदि हामिलाई सबै असक्षम लाग्छ भने असक्षम बाट पनि उत्कृष्ट असक्षम रोज्नुपर्छ । निन्द्रा र वेहोसि वा स्वार्थलाई विर्सिएर हामिले हाम्रो गाउँ, समाज र देशको लागि सोच्ने बेला आएको छ । मनोमानीतन्त्र, घुसतन्त्र, लुट्तन्त्र, भ्रष्टाचारतन्त्र, जस्ता मनलाग्दितन्त्र को अन्त्य गर्नु पर्दछ । आज हामीले परिवर्तन रोजे भोलिका पुस्ताले परिवर्तन पक्का परिवर्तित पाउने छन् । भोलिका दिन हरेक बालबालिकामा देश बुझिनेछ, वृद्धमा देश झल्किनेछ, र युवामा देश देखिनेछ । त्यसैले आउनुस परिवर्तनको लागि हातेमालो गरौँ । नेतालाई काम गर्न सजिलो होईन जनतालाई सहजिकरण रोजौँ । हाम्रालाई सम्मान गरौँ तर राम्रालाई रोजौँ । हाम्रो अमुल्य मतको सहि प्रयोग गरौँ । २०७९ सालको स्थानीय चुनाव सफल पारौँ ।

 

प्रतिक्रिया