

गभर्नरका लागि डा. भट्टको योग्यताबारेको रिटको सुनुवाइ आज

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नरका लागि कार्यकारी निर्देशक डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज आइतबार सुनुवाइ हुँदैछ ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार सर्वोच्चमा दायर पूरक निवेदनमा आइतबार सुनुवाइ हुन लागेको हो ।
६५ वर्षभन्दा माथिको व्यक्तिलाई गभर्नर नियुक्त गर्न नमिल्ने भन्दै उनीहरूले यसअघि नै दायर गरेको रिट सर्वोच्चमा विचाराधीन छ । अल्पकालीन अन्तरिम आदेश जारी भएको रिटका सम्बन्धमा आइतबार दुवै पक्षलाई बोलाएर सुनुवाइ हुँदैछ ।
त्यसैक्रममा सुनुवाइ गर्ने गरी पूरक निवेदनको पनि पेसी तोकिएको हो । गभर्नर बन्नका लागि कार्यकारी निर्देशक भट्टको योग्यता नपुग्ने भएकाले नियुक्ति रोक्न निवेदनमा माग गरिएको छ ।
यसअघि सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले ६५ वर्षमाथिको व्यक्तिलाई गभर्नर नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

