सार्वजनिक सम्पति हिनामिना गरेको आरोपमा वन अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय बाराका तत्कालीन वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

आर्थिक वर्ष ०७३र०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट वृक्षरोपणका लागि तीन लाख ६० हजार विनियोजन गरे पनि वृक्षारोपण नगरी हिनामिना गरेको पुष्टि हुन आएको भन्दै विशेष अदालत काठमाडौंमा आज (मंगलबार) मुद्दा दायर गरेको हो ।

जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे र सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ(११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध सोमबार जनही तीन लाख ६० हजार बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

वृक्षरोपणका लागि तत्कालीन जिल्ला वन कार्यालय, बारासँग भएको सम्झौताविपरीत तारवारसमेत नगरी स्थानीय मानिसहरुलाई काममा लगाए जस्तो गरी झारो टार्ने किसिमले वृक्षारोपण गरी रकम हिनामिना गरेको पुष्टि हुन आएकाल भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी जनही तीन लाख ६० हजार बिगो माग गरी मुद्धा दायर गरेको आयोले जनाएको छ ।

प्रतिक्रिया