
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीचको द्विपक्षीय वार्ता आज
काठमाडौं – दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण कार्यतालिकाअनुसार सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। सो अवसरमा उनलाई गार्ड अफ अनरसमेत प्रदान गरिने कार्यक्रम छ।
त्यसपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। राजघाटको कार्यक्रमपछि हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता हुनेछ।
वार्तापछि मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच विभिन्न सहमति तथा समझदारीपत्र आदानप्रदान गरिनेछ। त्यसलगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री बालेनले सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
भ्रमणका क्रममा नेपाल र भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार तथा पूर्वाधार विकासलगायतका विषयमा आर्थिक सहकार्यलाई थप मजबुत बनाउनेबारे छलफल हुने बताइएको छ।
यसैगरी, सम्पर्क सञ्जाल र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी विभिन्न समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिनेछ।
आइतबारदेखि भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले पहिलो दिन साँझ भारतीय विदेशमन्त्री डा। एस जयशंकरसँग भेटवार्ता गरेका थिए। जयशंकरले नयाँदिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका हुन्।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आज साँझ ६ बजेर ३५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।



कागजपत्र |
