एन्जेलिना जोली बन्न खोज्दा १० वर्ष जेल सजाय


इरान(एजेन्सी)–इरानकी प्रख्यात इन्स्टाग्राम सेलिब्रेटी सहर तबरलाई इन्टरनेटमा तस्बिर शेयर गर्नु महंगो साबित भएको छ । उनलाई एक अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । उनले आफ्नो डरलाग्दो तस्बिरलाई इन्स्टाग्राममा शेयर गरेकी थिइन् । यसलाई लिएर इरानमा उनको व्यापक विरोध भएको थियो । विरोधपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सहर त्यो बेलामा चर्चामा आएकी थिइन्, जुन समयमा उनले प्रख्यात हलिउड अभिनेत्री एन्जेलिना जोली जस्तै देखिनका लागि उनले ५० पटक भन्दा बढी प्लास्टिक सर्जरी गरेकी थिइन् । जोलीजस्तै देखिनका लागि आफूले पचास पटक भन्दा बढी सर्जरी गरेको दाबी गरेकी थिइन् । सर्जरीका कारण उनको अनुहार नराम्ररी बिग्रिएको थियो । उनको अनुहार यति नराम्रो भएको थियो कि जोकोहीले पनि उनको तस्बिर हेर्दा डराउने गर्दथे । उनलाई इरानमा जोम्बी एन्जेलिना जोली पनि भन्ने गरिन्थ्यो ।

उनका वकिलका अनुसार सहरले सामाजिक सन्जालमा गलत तस्बिर पोस्ट गरेपछि उनलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । उनलाई इश निन्दा, दंगा भड्काउने र युवालाई बिगार्ने जस्ता धाराको प्रयोग गरी मुद्धा दर्ता गरिएको छ । उनको वास्तविक नाम फतेमह शिवंद हो ।

प्रतिक्रिया