वायु प्रदूषण: यो वर्ष मध्य हिउँदमा प्रदूषण कम गर्न सरकार के गर्दैछ?


काठमाडाैं – वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई)अनुसार गत बिहीवारदेखि नै काठमाडाैंलगायत विराटनगर, वीरगन्ज, पोखराजस्ता ठूला सहरमा वायु प्रदूषण अस्वस्थकर तहमा रहेको देखिएको ।बिहीवार बिहान काठमाडाैं को एक्यूआई १५२ रहेकोमा शुक्रवार त्यो बढेर १७३ पुगेको छ ।

एक्यूआई त्यति पुग्नु भनेको विश्व स्वास्थ्य सङ्गठनको वायु गुणस्तर निर्देशिकाले तोकेभन्दा बढी र अस्वस्थकर तहमा हो । गत वर्ष पुस महिनामा काठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा एक्यूआई ४०० भन्दा बढी पुगेर वायुको गुणस्तर निकै खराब भएको थियो । वायु प्रदूषण हानिकारक अवस्थामा पुगेको भन्दै केही दिन विद्यालयहरू समेत बन्द गरिएको थियो ।

दुई वर्षअघि नै कार्ययोजना तर खोइ कार्यान्वयन?

वायु गुणस्तरको अवस्था पछिल्ला वर्षहरूदेखि नै खस्किँदै गएका बेला सरकारले २०७६ सालको माघ महिनामा काठमाडाैं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना मन्त्रिपरिषद्‌बाट पारित गरेको थियो । वातावरणीय रूपमा दिगो यातायात प्रणाली, उद्योग प्रतिष्ठानबाट हुने उत्सर्जन, अस्पताल, घरायसी एवं कृषिजन्य फोहोरको वातावरणमैत्री तवरबाट व्यवस्थापन गर्न भन्दै सरकारले कार्ययोजना अघि सारेको थियो ।

कार्ययोजनामा उद्योग, यातायात, निर्माणका क्षेत्रबाट हुने प्रदूषण न्यूनीकरण गर्न विभिन्न सरकारी निकायहरूले गर्नुपर्ने कामको सूची उल्लेख छ । त्यसबाहेक विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा जोड दिने र त्यसका लागि चार्जिङ सुविधा भएका बस टर्मिनलहरू तथा चार्जिङ केन्द्रहरू बनाउनेलगायत कार्ययोजनामा उल्लेख छ।

सरकारले कोरोनाभाइरसको महामारी सुरु हुनुअघि वायु गुणस्तर व्यवस्थापनबारे कार्ययोजना ल्याए पनि महामारीका कारण त्यसलाई कार्यान्वयनमा लैजान नसकिएको जनाएको छ । उक्त पञ्चवर्षीय कार्ययोजनामा काम गर्न भनेर वातावरण सचिवको नेतृत्वमा समिति बने पनि अहिलेसम्म पहिलो बैठकसमेत नबसेको बताइन्छ।

यो वर्ष प्रदूषण कम गर्न सरकारले के गर्दैछ?

यो वर्ष वायु प्रदूषण कम गर्नका लागि सरकारले त्यही कार्ययोजना अनुसार तत्काल गर्न सकिने कामलाई प्राथमिकता दिन लागिएको जनाएको छ । वातावरण विभागका उपमहानिर्देशकसमेत रहेका प्रवक्ता इन्दुविक्रम जोशी भन्छन्, ‘हामीले तत्काल गर्न सक्ने भनेको फोहोर बाल्ने काम रोक्ने हो । त्यसका लागि हामीले स्थानीय तहसम्मै काम गर्ने र आवश्यक परे प्रहरीलाई पनि परिचालन गर्ने भन्ने निर्णय गरेका छौँ ।’

वातावरणविद्हरूले चाहिँ वायु प्रदूषण अबको एक महिनामा उच्च विन्दुमा पुग्ने भन्दै सरकारले केवल निर्णय मात्रै नगरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । हिउँद सुरु भएसँगै वायुको गुणस्तर बिग्रन थालेको तथ्याङ्कले नै देखाउन थालिसकेकाले न्यूनीकरणका लागि सवारीसाधनको जाँचदेखि इँटा भट्टामा सुधारसम्मका काम गर्न ढिला भइसकेको उनीहरूले बताएका हुन् ।

सरकारले तत्काल चाल्नुपर्ने कदम

त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभागकी प्रमुख समेत रहेकी प्राध्यापक डाक्टर रेजिना मास्के भन्छिन्, ‘सरकारले असाध्यै राम्रो कार्ययोजना ल्याएको छ। त्यसमा फोहोर बाल्न रोक्नेदेखि बिजुली गाडीलाई प्रवर्द्धन गर्ने लगायत छन्। हाम्रो तहबाट तत्काल गर्ने भनेको फोहोर वा धुवाँ आउने वस्तु बाल्नमा रोक लगाउने नै हो ।’

त्यसबाहेक बिजुली गाडी प्रवर्द्धन गर्नेलगायतका दीर्घकालीन कामलाई पनि सँगसँगै लैजानुपर्ने उनले बताइन् । वायु प्रदूषण कम गर्न विभिन्न कार्ययोजना वा विभिन्न समिति बने पनि त्यसअनुसार सरकारले चालेको प्रयास अपुग देखिएको वातावरणविद् भूषण तुलाधर बताउँछन् ।

विद्युतीय सवारीसाधन विस्तारदेखि इँटा भट्टामा नयाँ प्रविधि ल्याउनेलगायतका प्रयासहरू दीर्घकालीन रूपमा गर्नुपर्नेमा उनी जोड दिन्छन् । तर यसैपालि वायु प्रदूषण कम गर्न सरकारले खास गरी अबको एक महिनाभित्र चार वटा क्षेत्रमा काम गर्न सक्ने तुलाधर बताउँछन् ।

उनका अनुसार ती चार काम यसप्रकार छन्-

१. जाडोमा फोहोर बाल्ने काम एकदमै धेरै हुन्छ। त्यसलाई रोक्न सरकारले पूर्ण रूपमा बन्द गर्न अभियान नै थाल्नुपर्छ ।

२. दशैँतिहारपछि ईँटा भट्टाहरू पनि चल्न थाल्छन्। ईँटा भट्टा सञ्चालनमा सुधार ल्याउन सकिन्छ ।

३. मापदण्डभन्दा बढी धुवाँ निकाल्ने सवारी साधनलाई जाँच गरेर तत्कालै रातो स्टीकर लगाउने वा सर्भिसिङमा पठाउने काम गर्नुपर्छ। २५ वर्षअगाडि सरकारले त्यसैगरी गाडीको जाँच गर्थ्यो। अहिले मादकपदार्थ सेवनको जाँच गरेजस्तै धेरै धुवाँ फाल्ने गाडीको पनि जाँच गर्नुपर्छ ।

४. फोहोर वा खेतीबालीका अवशेष बाल्न हुँदैन त्यसले वायु प्रदूषण धेरै हुन्छ र स्वास्थ्यमा असर गर्छ भन्नेबारे व्यापक जनचेतना फैलाउन आवश्यक छ ।

दिल्लीको असर

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणका कारण लगाइएको आंशिक लकडाउन अझै जारी छ। दीपावली लगत्तैदेखि त्यहाँ प्रदूषणको मात्रा बढेपछि विद्यालयहरू बन्द गर्ने, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिने लगायत गरिएको थियो । भारतको वायु प्रदूषणको असर अहिले काठमाण्डूको मौसममा पनि देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् नीराजन सापकोटा भन्छन्, ‘भारतबाट आएको जल वाष्प युक्त हावामा धुलोको कणहरू मिसिएर आएको हुनाले यहाँ अलि गुम्म भएको छ ।’ भारतमा पनि प्रत्येक वर्ष दीपावली लगत्तै वायु प्रदूषण अत्यधिक देखिने गरेको छ । त्यसको असर नेपालमा पनि देखिँदै आएको वातावरणविद्हरू बताउँछन् । बीबीसी

प्रतिक्रिया