

मृतकको बीमा रकम हडप्नन खोज्ने इन्स्योरेन्स कर्मचारी पक्राउ

विराटनगर— वैदेशिक रोजगारीमा गएका श्रीमानको मृत्युपछि बीमा रकम लिन गएकी एक महिलालाई झुक्याएर ठगी गरेको आरोपमा सन–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख सन्तोष अधिकारी पक्राउ परेका छन्।
मोरङको केराबारी–९ निवासी नईन्द्र विश्वकर्माको मिर्गौला फेल भएर निधन भएपछि उनकी पत्नी भिमकुमारीले बीमा रकमको दाबी गरेकी थिइन्। तर, शाखा प्रमुख अधिकारीले उनलाई जानकारी नदिई कागजात र खाली चेकमा सहीछाप गर्न लगाएर ठगी गरेका थिए।
श्रम स्वीकृतिबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिका हकवालालाई दिइने १३ लाख रुपैयाँको बीमा रकम लिन गएकी भिमकुमारीलाई अधिकारीले ‘पढ्न जान्दिन’ भन्दै भ्रामक व्यवहार देखाए। उल्टै, मृतकको १५ वर्षका भदा नाताका प्रतिक र जेठी श्रीमती मीरा विश्वकर्माको नाममा नयाँ बीमा दर्ता गराउँदै किस्ताको आर्थिक भार पनि थोपरे।
ग्लोबल आईएमई बैंकमा खाता खोल्न लगाएर रकम नियन्त्रणमा लिएका अधिकारीले अन्ततः “५ लाख ७० हजारभन्दा बढी दिन सक्दिन” भन्दै पीडितलाई हप्काएपछि भिमकुमारीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइन्।
प्रमुख जिल्ला अधिकारी इनरदेव यादवको निर्देशनमा मोरङ प्रहरीले अधिकारीलाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता गरेको छ। उनीमाथि अहिले आपराधिक ठगीको अभियोगमा अनुसन्धान जारी छ।

