

नारायणी अस्पताल भवन निर्माणमा अनियमितता: पूर्व निर्देशक डा. सञ्जय ठाकुरसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं— नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका तत्कालीन निर्देशक डा. सञ्जय ठाकुरसहितका विरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले ठाकुरसहितका संलग्नविरुद्ध १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको भ्रष्टाचार आरोपमा मुद्दा अघि बढाएको हो। उजुरीका आधारमा अनुसन्धान गर्दा सार्वजनिक खरिद प्रक्रिया कमजोर बनाइ ठेक्काको प्रतिस्पर्धा सीमित गर्ने, मिलेमतोमा ठेक्का दिने र लागत अनुमानमा नरहेका आइटमहरू समावेश गरिएको पाइएको आयोगले जनाएको छ।
विशेषगरी एमएम-३५ इन्टरलक ब्लक बिछ्याउने कार्यलाई मुख्य निर्माण कार्यझैं प्रस्तुत गरी अन्य प्रतिस्पर्धी कम्पनीलाई बाहिर राख्ने उद्देश्यसहित बोलपत्र अस्वीकृत गरिएको उल्लेख छ। आयोगका अनुसार सहायक कार्य मात्र मानिने इन्टर ब्लक बिछ्याउने कामलाई “मुख्य आइटम” बनाई मूल्याङ्कनको आधारमा अन्य प्रस्तावलाई कमजोर ठहर गर्दै अनुचित लाभ दिइएको हो।
त्यस्तै, काठमाडौं उपत्यका सडक विस्तार परियोजनामा शिवाको/विकास एण्ड ब्रदर्स/वि.जी. जे.भी. नामक निर्माण कम्पनीले ग्रे कलर इन्टरलक ब्लक प्रयोग गरे पनि मूल्याङ्कनमा “ग्रेड उल्लेख छैन, रंग स्पष्ट छैन” जस्ता सामान्य कुरालाई बदनियतपूर्वक प्रयोग गर्दै अन्य प्रतिस्पर्धी कम्पनीलाई असफल घोषित गरिएको छ।
नारायणी अस्पतालको भवन निर्माण कार्यमा सार्वजनिक खरिद ऐन तथा नियमवलीको पालना नगरी एक निश्चित निर्माण व्यवसायीलाई फाइदा हुने गरी ठेक्का सम्झौता गरिएको आरोप पत्रमा उल्लेख गरिएको छ। यसले नेपाल सरकार तथा अस्पताललाई ठूलो आर्थिक हानी पुर्याएको भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरिएको छ।

