

सुडानमा सैन्य ‘कू’: विरोध प्रदर्शनमा सेनाले गोली चलाउँदा १४ जना मारिए

काठमाडौं – सुडानमा गत महिना भएको सैन्य कूको विरोधमा भएको प्रदर्शनमा १४ जना मारिएका छन् । अलजाजिराका अनुसार प्रदर्शनमा सेनाले चलाएको गोली लागी उनीहरुको मृत्यु भएको हो ।
सेनाले चलाएको गोली लागेर दर्जनौं मानिस घाइते भएका छन् । १४ जनाकै मृत्यु राजधानी सहर खार्तोममा भएको हो । गत महिना सैन्य कू भएयता अहिलेसम्म सुडानमा प्रदर्शनको क्रममा ३८ जनाको मृत्यु भइसकेको छ । यो क्रममा सयौं मानिस घाइते भएका छन् । बुधबार प्रदर्शनकारीले राजधानी सहर र आसपासका क्षेत्रमा प्रदर्शन गरेका थिए । यो क्रममा सेनाले उनीहरुमाथि अन्धाधुन्ध गोली चलाएको हो ।
यसअघि सुडानको सेनाले फोन सम्पर्कमा रोक लगाएको थियो । सेनाले भने अन्धाधुन्ध गोली चलाएको घटना अस्वीकार गर्दै अहिले उनीहरुको मृत्युको विषयमा अनुसन्धान भइरहेको बताएको छ । समाचारमा बताइएअनुसार सेनाले घाइते भएर अस्पतालमा उपचार गराइरहेका मानिसलाई पनि पक्राउ गरेको छ ।

