

वि.पी. स्मृति अस्पताललाई ५० हजार जरिवाना, काठमाडौं महानगरद्वारा फोहर संकलन रोक्का

काठमाडौं — हानिकारक अस्पताल फोहरको उचित व्यवस्थापन नगरेको भन्दै काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित वि.पी. स्मृति अस्पतालको फोहर संकलन रोक्का गर्दै ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
स्थानीयले फोहरको दुर्गन्धको गुनासो गरेपछि महानगरको वातावरण विभाग, स्वास्थ्य विभाग र प्रहरी टोलीले अनुगमन गर्दा अस्पतालले फोहर वर्गीकरण तथा निर्मलीकरण नगरेको पाइएको हो। यसअघि पनि अस्पतालमा अनुगमन गरिएको भए पनि सुधार देखिएको थिएन।
टोखाबाट सञ्चालित हिमालयन प्रालिले अस्पतालको फोहर संकलन गर्दै आएकोमा, अब महानगरले अनुमति नदिएसम्म फोहर नउठाउन निर्देशन दिएको छ।
विद्यमान कानुनअनुसार अस्पताल वा स्वास्थ्य संस्थाले जोखिमपूर्ण फोहर जथाभावी फाल्न नपाइने र उल्लंघन गरेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना, दोहोरिएमा अनुमति रद्दसम्म गर्न सकिने व्यवस्था छ।
फोहर वर्गीकरण, सुरक्षित ढुवानी, भण्डारण, र उचित निर्मलीकरणमा अस्पतालहरूले देखाएको लापर्वाही स्वास्थ्य र वातावरण दुवैका लागि खतरनाक भएको महानगरले जनाएको छ।

