

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडाैं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आमनागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन तथा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलले संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको पक्षलाई मनन गर्न जरुरी रहेको बताए ।
राष्ट्रपति पौडेलले संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकहरूले पेसालाई सेवाभावको दृष्टिकोणले हेर्नुहुने बताए । उनले हाल देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु नेपालकै लागि खुसीको विषय भएको बताए ।
राष्ट्रपति पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रही शिक्षण अस्पतालका रूपमा यसले चिकित्सा शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै भविष्यमा नयाँनयाँ विधामा जनशक्ति उत्पादन गर्नेतर्फसमेत प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे ।

