सर्वोच्चमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप, बार महासचिवसहित ६ जना घाइते


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप हुँदा ६ जना अधिवक्ता घाइते भएका छन्।

झडपको क्रममा बारका महासचिव लिलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई घाइते भएका हुन्।

नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईका अनुसार उनीहरु सामान्य घाइते भएका हुन्।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ।

सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो। आन्दोनरत कानुन व्यवसायी सर्वोच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो।

भिड नियन्त्रणका लागि काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गर्न आदेश दिएका छन्।

प्रतिक्रिया