बार एसोसिएसनद्वारा आज मुलुकभरका १८ उच्च अदालतमा विरोध प्रदर्शन


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा गर्नपर्ने माग गरिरहेको नेपाल बार एसोसिएसनले मुलुकभरका १८ उच्च अदालतमा बुधबार विरोध प्रदर्शन गरिरहेको छ ।

उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्नका लागि केन्द्रबाट प्रतिनिधि खटाएर किन प्रधानन्यायाधीशको राजीनामा माग्नुपरेको हो भन्ने कुरा स्पष्ट पार्न लागिएको बारका महासचिव लिलामणी पौडेलले बताए।

न्यायालयमा विकृति, विसंगति, विचौलिया बढाएको आरोप लगाउँदै राणाले राजीनामा गर्नपर्ने माग गरिरहेको बारले बुधबार दिउँसो १२ बजेदेखि उच्च अदालतहरूमा विरोध प्रदर्शन गरिरहेको छ । त्यसका लागि बारका पदाधिकारी र केन्द्रीय प्रतिनिधि उच्च अदालतहरूमा पुगेका छन् । ललितपुर पाटन उच्च अदालतमा केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ र उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतको सहभागिता रहेको छ ।

त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र तुलसी भट्ट पोखरा पुगेका छन् । बारका महासचिव पौडेल जनकपुर पुगेका छन् । उनीसँग वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो पनि छन् । वीरगन्ज उच्च अदालतमा विरोध प्रदर्शन गर्नका लागि वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता भीमसेन बन्जरालगायत पुगेका छन् ।

त्यस्तै प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतबाट बालुवाटारसम्म ुनागरिक मार्चु गर्ने पनि बारले घोषणा गरेको छ । बिहीबार २ बजेका लागि घोषणा गरिएको छ ।

प्रतिक्रिया