प्रधानन्यायाधीशका भाइको ३० करोडको घरजग्गा रहेको भन्दै सम्पत्ति शुद्धीकरणमा उजुरी


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ। अवैध सम्पत्ति आर्जन गरेको भन्दै प्रभु शमशेर राणाविरुद्ध उजुरी परेको हो।

मंगलबार अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीशको बिचौलिया बनी प्रभु शमशेरले ३० करोड बराबरको सम्पत्ति (घर÷जग्गा) जोडेको भन्दै विभागमा उजुरी दिएका हुन् ।

डा. केसीको उजुरीमा प्रभु शमशेरको नाममा काठमाडौं महानगरपालिका–२९ ठमेलको कित्ता नम्बर १०८५ को ८ आना जग्गासहित घर २०७६ मंसिर २० मा खरिद भएको दाबी गरिएको छ।

यस्तै, काठमाडौंको गोठाटार–८ को कित्ता नम्बर १२४, कित्ता नम्बर ३३ को साढे ३ रोपनी जग्गा समेत गरी ३० करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गाहरु रहेको उजुरीमा उल्लेख छ।

प्रभु शमशेरसहितका उनको परिवारका सदस्य, नातेदारका सम्बन्धमा समेत छानबिन गर्न पनि केसीले माग गरेका छन्। तत्काल सम्पत्ति रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न तथा अवैध सम्पत्ति जफत गरी दोषीलाई कानुन बमोजिम हदै सम्मको सजाय गर्न पनि उजुरीमा माग गरिएको छ।

प्रतिक्रिया