सर्वोच्चमा गोलाप्रथा सुरु, आजै तोकियो २१७ मुद्दाको पेसी


काठमाडौं — विगत लामो समयदेखि अड्चन रहेको सर्वोच्चको समस्या पहिलो चरणका लागि समाधान भएको छ । सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएसँगै कानुन व्यवसायीहरुको आन्दोलन रोकिएको हो । गोला प्रथाको पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् ।

गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् । उनीहरुको इजलासमा १६ वटा मुद्दा परेका छन् ।

न्यायाधीश मीरा खड्कालाई इजलाशमा १६ मुद्दासहित एकल इजलास गठन गरिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ । उनीहरुको इजलाशमा २८ वटा मुद्दा छन् ।

न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ । उनीहरुकोमा १५ मुद्दाको पेसी परेका छन ।

अर्का न्यायाधीश डा. कुमार चुडालको एकल इजलास गठन भएको छ । उनको इजलासमा पनि १५ मुद्दाको सुनुवाई हुने भएको छ ।

त्यसैगरी डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । उक्त इजलासमा  २७ मुद्दाको सुनुवाई हुने छ ।

त्यस्तै सबैभन्दा धेरै ४३ मुद्दाको सुनुवाई न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासमा हुने गरी गठन भएको छ ।

प्रकाशमानसिंह राउन र हरि फूयालको अर्को इजलास गठन भएको छ । उनीहरुको इजलासमा १७ मुद्दाको सुनुवाई हुने भएको छ ।

अर्को १९ मुद्दाको सुनुवाई हुने गरी अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ । उनीहरुको २० मुद्दाको पेसी तोकिएको सर्वोच्च स्रोतले जनाएको छ । यससँगै आज (बुधबार) का लागि २१७ मुद्दाको पेशी तोकिएको हो ।

प्रतिक्रिया