कांग्रेस १५औं राष्ट्रिय महाधिवेशनः महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक तयारीमा भूपेन्द्रजंग शाही


सुर्खेत । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा कर्णाली प्रदेशबाट पहिलोपटक महामन्त्रीको उम्मेदवारी दिने तयारीमा प्रभावशाली नेता भूपेन्द्रजंग शाहीले औपचारिक तयारी थालेका छन् । ईतर समूहका प्रभावशाली नेता शाहीले कर्णालीबाट महामन्त्रीमा उम्मेदवारी दिनेगरी उनी निकटका नेताहरु प्रचारप्रसारमा नै जुटिसकेका छन् ।

कालिकोट निवासी शाही कर्णाली मात्र नभई देशभर संगठनात्मक पहिचान बनाइसकेका युवा नेता हुन् । नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महासचिव हुँदै २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका उनी निरन्तर संगठन निर्माणमा सक्रिय रहँदै आएका छन् ।

१४औँ महाधिवेशनमा कर्णाली प्रदेश सभापतिमा प्रतिस्पर्धा गरेका शाही संगठनमा निरन्तर खटिने, नयाँ प्रयोग गर्ने र पार्टीका गलत निर्णयविरुद्ध खुलेर बोल्ने नेताका रूपमा परिचित छन् । पछिल्लो समय उनले कांग्रेस रूपान्तरण अभियान, संगठन सुदृढ यात्रा र गाउँ–गाउँ केन्द्रित कार्यक्रममार्फत देशव्यापी संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

पछिल्लो समय जेनजीले उठायका मुद्धा एक बर्ष अगाडि नै २०८१ कार्तिक २३ गते वाट पुर्व मेचिनगर देखि पस्चिम महेन्द्रनगर सम्म युवा सङ्कल्प यात्रा गरेर देशैभरि युवाका एजेन्डा, भ्रस्टाचारको अन्त्य, सुशासन, युवालाइ रोजगारीको ग्यारेन्टि, नागरिक मैत्री सरकार, उधमशिलता र कृषिमा युवालाइ जोडेर अगाडि बढ्न नेता शाहीले सरकारलाइ समयमै ध्यान अकर्षण गराएका थिए। गाउँ–गाउँ पुगेर संगठन निर्माणमा जुटेका शाहीले ‘सल्यान कपुरकोटदेखि हुम्ला सिमकोटसम्म’ कठिन भूगोलमा संगठन सुदृढ यात्रा सञ्चालन गरेका थिए । यस अभियानलाई कांग्रेसभित्र नयाँ जागरण र ऊर्जा भर्ने प्रयासका रूपमा हेरिएको छ ।

शाही स्पष्ट वक्ता, क्रियाशील र संगठनमुखी नेता मानिन्छन् । पार्टीका विभिन्न अभियान, जिल्ला दौडाहा र जनसंवाद कार्यक्रममार्फत उनी निरन्तर कार्यकर्तामाझ देखिँदै आएका छन् । कर्णालीका युवाहरूबीच बलियो पकड बनाएका शाहीलाई कर्णालीबाट केन्द्रीय नेतृत्वमा पुर्‍याउनुपर्ने आवाज पनि बढ्दै गएको छ ।

महाधिवेशन सन्दर्भमा आफ्नो दाबीबारे प्रतिक्रिया दिँदै शाहीले भने, ‘पार्टीभित्र नेताहरुसँग पनि सर-सल्लाह हुन्छ । जिल्ला जिल्लाका साथीहरुसँग पनि राय सल्लाह लिएर चाडैं नै उम्मेदवारी घोषणा गर्नेछु ।’

कर्णालीबाट केन्द्रीय तहमा बलियो युवा उपस्थिति सांगठनिक दृष्टिकोणबाट प्रभाव सुनिश्चित गर्ने उद्देश्यसहित शाहीको महामन्त्री उम्मेदवारीलाई ईतर समूहले रणनीतिक रूपमा अगाडि बढाउने संकेत पनि देखिएको छ ।

प्रतिक्रिया