एसएलआरको ‘मात’मा मेजरकै टाउको फुट्यो !


काठमाडौं – आइतबार राति मदिराको ‘मात’मा नेपाली सेनाका सेनानी (मेजर) अशोकजंग शाहीले कैलाली चिसापानीका स्थानीयलाई तर्साउन ‘एसएलआर राइफल’ ताके। बन्दुकको आडमा स्थानीयलाई त्रसित बनाउन खोजेका शाही आँफै स्थानीयको जालमा परे।

कैलालीको लम्कीचुहा नगरपालिकास्थित सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत मेजर शाहीले अत्याधिक मदिरा खाएर हंगामा मच्चाएपछि स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेका छन्। कुटपिटबाट शाहीको टाउकोमा चोट लागेको छ।

३०–४० जनाको समूहमा उर्लिएका स्थानीयले कुटपिट गर्दा मेजर शाहीको टाउकोमा लागेको चोटमा १६ वटा टाँका लगाउनु परेको छ। स्थानीय प्रहरीले उनको स्वास्थ्य परीक्षण रिपोर्ट पनि संकलन गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

०००

सुरुमा चिसापानीस्थित मेजर शाहीको संगम होटल सञ्चालक हर्क रावलसँग विवाद भएपछि स्थानीय जम्मा भएका थिए। रक्सी खाएर हो–हल्ला गर्दा हिँडेपछि कैलाली चिसापानीका स्थानीयले सम्झाउने प्रयास गरे। स्थानीयको कुरा नै नसुन्दै उनी त्यहाँबाट शिक्षालयतिर भागे।

शिक्षालयको गेटमा ड्युटी गरिरहेका हुद्दा तीर्थबहादुर बडुवाललाई बा०१–००२६च ३४६१ नम्बरको गाडीमा राखेर शाही पुनः चिसापानी चोक पुगे, स्थानीयहरु त्यहिँ थिए।  हुद्दा बडुवालले डुय्टीमा रहँदा बोकेको हतियार एसएलआर पनि सँगै लगेका थिए। शाहीको गाडी देख्नासाथ स्थानीयले तोडफोड सुरू गरिहाले।

हुद्दासँग चिसापानी चोक पुगेका मेजर शाहीलाई स्थानीयले कुटपिट तथा उनको गाडीमा तोडफोड गरेका थिए। त्यसक्रममा शाहीले हुद्दाको एसएलआर निकालेर स्थानीयलाई ताके। एसएलआर नै ताकेपछि झनै आक्रोशित स्थानीयको भीडले उनी घेराबन्दीमा परे। पिटाई खानुसम्म खाए।

रक्सीको मात’मा राइफल देखाएपछि स्थानीयले शाहीलाई नियन्त्रणमा लिएर कुटपिट गर्न थालेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थल पुग्यो। प्रहरी घटनास्थल पुग्दा मेजर शाहीको टाउकोबाट रगत बगिरहेको थियो।

प्रहरीले चारैतिरबाट घेरा हालेर शाहीको जीवन रक्षा गर्न लाग्यो। स्थानीयको बीचबाट खोसेर मेजर शाहीलाई प्रहरी कार्यालय लगियो। मेजर शाहीप्रति आक्रोश भइरहेका स्थानीयहरु पछिपछि प्रहरी कार्यालयतिरै अघि बढे। प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय चिसापानीमा ढुंगामुढा समेत गरे।

स्थानीयले प्रहरी चौकीमा समेत आक्रमण गर्न थालेपछि शाहीलाई राति नै इलाका प्रहरी कार्यालय लम्की लगियो। भोलिपल्ट स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय जनताबीच चिसापानी प्रहरी कार्यालयमा भएको छलफलमा मेजर शाहीले आफ्नो गल्तीलाई क्षमा दिन अनुरोध गरेका थिए।

आफू अर्कै होटलमा जान खोजेको तर उक्त होटलमा पुग्दा विवाद भएपछि आवेशमा आफूले घटना गराएको स्वीकारेपछि प्रहरीले मेजर शाहीलाई शिक्षालयमा बुझाएको छ। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले आइतबार राति मेजर शाहीले हंगामा गरेपछि नियन्त्रणमा लिएर सेनालाई बुझाएको पुष्टि गरे।

कोर्ट अफ इन्क्वाइरीगठन

रक्सी सेवन गरेर ‘एसएलआर राइफल’ ताकेर स्थानीयलाई तर्साउन खोजेका मेजर शाहीविरुद्ध छानबिन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन भएको छ। घटनाबारे जानकारी भएपछि जंगी अड्डाले महासेनानीको कमाण्डमा इन्क्वाइरी गठन गरेको हो।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बुधबारदेखि इन्क्वाइरीले काम गर्ने जानकारी दिए। उनका अनुसार छानबिनपछि इन्क्वाइरीले बुझाउने रिपोर्टका आधारमा दोषी देखिए मेजर शाहीमाथि कारबाही प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया