सेनामा एकपछि अर्को ‘काण्ड’, रथी बढुवाका लागि सिफारिस सिग्देलको पनि जन्ममितिमा कैफियत !


काठमाडौं – पछिल्लो समय नेपाली सेनाका उच्च अधिकारीहरु जन्ममितिसम्बन्धी विवादमा आउँदै गएका छन् ।

गौरवपूर्ण इतिहास बोकेको ४५ औं नेतृत्वका लागि रथीमा बढुवा सिफारिसमा परेका उपरथी ताराध्वज पाण्डेले जन्ममितिसम्बन्धी ‘काण्ड’ बाहिरिएपछि राजीनामा दिएका थिए । त्यसपछि सैनिक सचिव विभागले गत शुक्रबार रथी बढुवाका लागि आन्तरिक सूचना प्रकाशित गरेको आज एक साता पुगिसकेको छ । नेपाली सेनाले उनीविरुद्ध उजुरी दिनका लागि ७ दिनभित्र आधिकारिक रुपमा मात्र उजुरी दिन सकिने अन्थया उजुरी नै दर्ता नहुने सूचनामा नै उल्लेख गरिसकेको थियो ।

तर रथी बढुवाका लागि सिफारिस भएका सिग्देलको पनि उपरथी पाण्डेको जस्तै कैफियत देखिएको प्रमाण अनलाइनन्यूज७लाई प्राप्त भएको छ । प्राप्त प्रमाणअनुसार सेनाको सुपिङ क्याम्पसको रेकर्डअनुसार उनको जन्म २०२१/१२/१९ रहेको छ र त्रिभुवन विश्वविद्यालयको रजिष्टरमा पनि २०२१/१२/१९ रहेकोमा मिति २०७६/०४/३० मा केरमेट गरि २०२३/१०/१९ कायम गरिएको छ । यसबाट उनले २०७६ साल साउन ३० गते  जन्ममितिमा कैफियत गरेको खुलेको छ ।

त्रिविको अभिलेखमा कुनै कैफियत बिना जन्ममितिमा केरमेट गरेको देखिएको भन्दै सिग्देलको बढुवाविरूद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा दुई उजुरी दर्ता भएको स्रोतले जनाएको छ ।

मुलुककै संवेदनशील मानिएको नेपाली सेनाको नेतृत्वमा पुग्ने मनशायले यस किसिमको गैरकानुनी र कीर्ते काम गरिनु पक्कै पनि मुलुक र संगठनका लागि राम्रो काम होइन । सेलामा सलबलाएको यस किसिमको गलत प्रवृत्तिले नेपाली सेनाको अनुशासनमै प्रतिकूल प्रभाव पार्ने र सैनिकहरुको मनोबललाई नै गिराउने काम गर्दछ । उजुरीपछि राज्य व्यवस्था समितिले जंगी अड्डाका लागि कस्तो सुझाव दिन्छ वा जंगी अड्डाले के निर्णय गर्छ त्यो भने हेर्न बाँकी नै छ । सिग्देलको जन्ममितिमा कैफियत देखिएपछि सैनिक सचिव विभागले के निर्णय गर्छ, त्यो प्रतिक्षाकै विषय रहेको छ ।

यता सिग्देलपछिको बरियतामा रहेका उपरथी निर्मलकुमार थापाविरुद्ध पनि अख्तियारमा उजुरी परेको छ । थापाको नेपाली सेनामा भर्ती हुँदा बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै उजुरी परेको हो ।

प्रतिक्रिया