१० दिनसम्म सुनिनन् त्रिपुरासुन्दरी माताले बहिनीको पुकारा, कहाँ छन् मेजर पण्डित ?


काठमाडौं – आज मंगलबार, भदौ १९ । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपति विमल पण्डित सम्पर्कबिहीन भएको आज १० दिन भयो । भदौ १० गते साँझ दुनैस्थित जीप पार्कबाट हतार–हतार नगेन्द्र बस्नेतको जिप चढेर त्रिपुराकोटसम्म पुगेपछि सम्पर्कबिहीन भएको आज १० दिन पुगिसक्यो ।

डोल्पा जिल्लास्थित तिनवटै सुरक्षा निकाय र स्थानीयको संयुक्त टोलीले खोजी गरे पनि अहिलेसम्म उनको अवस्थाको बारेमा केही अपडेट भएको छैन ।

मेजर पण्डितको खोजीमा तीनवटै सुरक्षा निकायबाट विशेष टोली परिचालित भए पनि हालसम्म फेला पर्न नसकेपछि सुरक्षाकर्मीको संख्या र खोजीको दायरा बढाउँदै छिमेकी जिल्लाहरुमा पनि खोजतलास गरिए पनि अहिलेसम्म केही सुइँको समेत पाउन सकिएको छैन ।

उनलाई त्रिपुराकोटसम्म पुर्याउने चालक बस्नेतका अनुसार दुनैबाट हिँडेपछि दुईपटक फोन आएको बताएका छन् । उनले फोनमा आफूले मेजर पण्डितले बोलेको मात्रै सुने पनि राम्रोसँग नबुझेको बताएका छन् । त्यसपछि उनी बजारमा पुगेर फोनपेमार्फत रिजर्भ गरेबापतको भाडा तिरेको बुझिएको छ ।

त्यसको केहीबेर लगत्तै नेपाली सेनाको गाडी त्रिपुराकोटतर्फ आउँदै गरेको चालक बस्नेतले जनाए पनि त्यसपछि भने केही कुरा आफूलाई थाहा नभएको बताए ।

उनले आइतबार परिवारसँग फोन सम्पर्क गरेको देखिए पनि त्यसपछि अहिलेसम्म उनको मोबाइलको स्वीच अफ नै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव बुढाथोकीले मेजर पण्डितको खोजीमा सेनाका दुवै गणसहित आफूहरू फिल्डमा खटिएको भए पनि कुनै प्रगति भने नभएको बताए ।

‘उनले आफैंप्रति कुनै अप्रिय घटना घटाउने मनसायले ब्यारेक नछाडेको पनि अनुमान लगाउन सकिन्छ । यदि त्यस्तो हुन्थ्यो भने त्रिपुरासुन्दरीबाट २६ हजार नगद केका लागि लिन्थे होला र ?,’ खोजीमा खटिएका एक प्रहरीले भने । अहिले प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र, भेरी नदी किनारतिर खोजी केन्द्रित गरिएको जनाएको छ।

यता कागेश्वरी मनोहरास्थित घरमा भने सुनसान छ । ‘कहिँ कतैबाट केही खबर आयो र सर ?’ उनको घर भएका वडाका वडाध्यक्षले उल्टै प्रतिप्रश्न गरे । ती वडाध्यक्षका अनुसार मिजासिला पण्डित सम्पर्कबिहीन भएदेखि हाम्रो वडा नै पीडामा परेको छ । ‘खै के गर्ने के नगर्ने ? सेनाको त्यति ठूलो मान्छे, राज्यका साथै सेना पनि राम्रैसँग खोजेको नै होला, तर किन हो पत्ता लाग्न सकेन, आज १० दिन भइसक्यो ।’ उनको घरपरिवारको बारेमा प्रश्न गर्दा वडाध्यक्षले भने, ‘उनीहरु यहीँका बासिन्दा हुन्, जग्गा जमिन पनि धेरै भएका, बुवा त्रिभुवन विमानस्थलबाट रिटार्यड भएपछि राजनीतिमा लागेका र श्रीमती पनि बैंककी म्यानेजर भएकोले त्यस्तो नराम्रो भन्ने त केही थिएन, खै के भयो, के भयो ?’ वडाध्यक्ष नै अलमल पर्छन् । ती वडाध्यक्षका अनुसार १० दिनदेखि विमलका बुवा घरबाहिर त्यतिसारो निस्किएका पनि छैनन् ।

बिमलकी बैनीले सामाजिक सञ्जालमा त्रिपुरासुन्दरी मन्दिरको भिडियो राख्दै ‘जय त्रिपुरासुन्दरी माई, रक्षा गरिदिइस्यो भगवान’ भनेर गरेको पुकारा अहिलेसम्म त्रिपुरासुन्दरी माताले सुनेकी छैनन् । आशा अनि विश्वास गरौं, छिटै त्रिपुरासुन्दरीको कृपाले बिमलको वास्तविक अवस्था पत्ता लागोस्, अनि घरमा बसेर छोराको खबर र बाटो हेरिरहेका बा–आमाका साथै दुई सन्तानका साथ कार्यालयको व्यवस्थापन गरिरहेकी श्रीमतीसमक्ष छिटै सुखद् खबर पुगोस् । अनि राष्ट्रले पनि होनाहार एउटा सैनिकलाई पुनः काममा फर्काउन सकोस्…

प्रतिक्रिया