१७ दिनपछि मृत भेटिए सेनाका मेजर पण्डित


डाेल्पा – डाेल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित मृतावस्थामा भेटिएका छन् ।

भदौ १० गतेदेखि बेपत्ता भएका पण्डितको सम्पर्कविहीन भएको १७ दिनपछि शव फेला परेको बताइएको छ ।

उनको शव भेरी नदिको पानीमै डुबेको अवस्थामा डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिक भेटिएको जनाइएको छ ।

स्थानीयले नदीमा औंठी र घडी लगाएको एक पुरुषको शव देखेको बताएपछि लगातार १७ दिनदेखि उनको खोजीमा खटिएको सेनाको टोली त्यसतर्फ गएको थियो । मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको जनाइएको छ ।

सेनाले उक्त शव मेजर पण्डितको हुन सक्ने आशंकामा टोली त्यसतर्फ पठाएको थियो । शरीर पानीमै भए पनि कपडा नरहेको अवस्थामा शव भेटिएको स्थानीयले खबर गरेपछि सैनिक टोली त्यहाँ गएको हो ।

उनी अपरान्ह साढे ४ बजे इभिइनिङ वाकका लागि ब्यारेकबाट निस्किएका थिए ।

प्रतिक्रिया