प्रधानसेनापति शर्मा भोली भारत जाँदै


काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा भोलि (मंगलबार) छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् ।

भारतका सेनाध्यक्ष मनोज मुकुन्द (एमएम) नरवणेको निमन्त्रणामा चार दिने भ्रमणका लागि प्रधानसेनापति शर्मा भारत जाने भएका हुन् । प्रधानसेनापति शर्मा यही कात्तिक २६ गतेसम्म नेपाल फर्कने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

प्रधान सेनापति शर्मा इन्डोनेसियाद्वारा निर्मित सेनाकै विमानबाट मंगलबार बिहानै दिल्ली जाने भएका हुन् ।

सेनापति शर्माको भारत भ्रमण टोलीमा बढीमा १५ सदस्य रहने बताइएको छ । तीमध्ये धेरैजसो सेनापतिको सचिवालयका सदस्य रहने छन् ।

प्रधान सेनापति शर्माले बुधबारतिर भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्ने सम्भावना छ । दुई देशबीच एकले अर्कोलाई यस्तो सम्मान गर्ने परम्परा लामो समयदेखि जारी छ ।

प्रतिक्रिया