

भेडापालन व्यवसायमा रमाउँदै तिलाका स्थानीयवासी

खलङ्गा – जुम्लाको तिला गाउँपालिका–२ का सबै घरधुरीले पुस्तौँदेखि भेडापालन व्यवसाय गर्दै आएका छन्। सो गाउँमा ८५ घरधुरीको बसोबास छन्। उनीहरु पुस्तौँदेखि भेडापालन व्यवसाय गर्दै आएका हुन् ।
गाउँपालिकाको मुकाम डुन्डेलीबाट ४५ मिनेट पैदलयात्राबाट पुगिने सो गाउँ तलबाट हेर्दा सबै पहाडैपहाडजस्तो देखिन्छ। तर, त्यही गाउँमा पुग्दा भने केही फराकिलो जमिन भेटिन्छ। पहाडको काखैमा घरैघरले भरिएको गाउँको मुख्य आम्दानीको पेसा भनेकै भेडापालन हो।
यही भेडापालन व्यवसायीबाट छोराछोरी पढाउने, औषधिमुलो गर्ने र लुगाफाटो फेर्नेलगायतका आवश्यकता पूरा हुने गरेको स्थानीयवासी बताउँछन् । गाउँमा सरकारी जागिर खाएका मानिसहरू औँलामा गन्न सकिन्छ। गाउँमा भेडापालन नगरेका कोही पनि छैनन्। २० भन्दामाथि भेडा रहेको धेरै घर छन् । सो गाउँमा झन्डै एक हजारजति भेडा छन्। अहिले भेडाको मासु प्रतिकेजी रु नौ सयदेखि एक हजारसम्म बिक्री हुने गरेको तिला गाउँपालिका–२ लर्मीगाउँका भक्तबहादुर रावतले बताए ।
भेडाको ऊनबाट उत्पादन हुने राडीपाखी प्रतिगोटा रु चार हजारदेखि चार हजार पाँच सयसम्म बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ। अघिल्लो वर्ष गाउँबाट एक व्यक्तिले रु सात लाख मूल्य बराबरको राडीपाखी बिक्री गरेको थियो। गाउँमा भेडापालन व्यवसाय भए पनि चरन क्षेत्रको अभाव छ। जताजतै खनजोत गरेपछि चरन क्षेत्रको अभाव भएको हो ।
अर्काेतर्फ लामो समयदेखि खडेरीका कारण सुक्खा हुँदा भेडापालन व्यवसाय प्रभावित हुँदै आएको स्थानीयवासी कर्ण रावतले बताए। सोही गाउँका बिर्खबहादुर रावतले भने, ‘भेडापालन व्यवसाय यहाँको पुख्र्यौली पेसा हो। भेडापालन व्यवसाय यहाँको मुख्य आम्दानीको स्रोत भएकाले स्थानीयवासीले व्यवसाय छोड्न सकेका छैनन्। यही व्यवसायबाट आयआर्जन गर्ने गरेका छौँ ।’
बालबच्चा बढाउने, खाना, औषधिमूलो गर्ने यही व्यवसायबाट टार्ने गरेको स्थानीयवासी रावतले बताए। पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतका अनुसार जुम्लाका भेडापालनको सङ्ख्या बढ्दो क्रम रहेको छ। अझ तिनै तहका सरकारले यो व्यवसायलाई महत्वका साथ कार्यक्रम सञ्चालन गरेको खण्डमा जुम्ला मासुमा आत्मनिर्भर हुने सम्भावना रहेको छ ।
यो पेसा व्यवसाय चुनौती भए पनि कृषकले भेडापालन व्यवसाय छाडेका छैन। कार्यालयले भेडापालन किसानलाई अनुदान दिने जस्ता काम पनि गरेको कार्यालय प्रमुख महतले बताए ।

