सामूहिक हत्याः साँझसम्म पुग्छ सीआईबी, पिकु र लैला लिएर घटनास्थलमा एसपी दाहाल


काठमाडौं– संखुवासभाको मादी–१ उमलिङमा एकै परिवारको ६ जनाको हत्या प्रकरण अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोली साँझसम्म घटनास्थल पुग्ने भएको छ।

संखुवासभा पुगेको डीएसपी रुगम कुँवरसहित तीन जनाको टोलीले जिल्ला प्रहरी कार्यालयलगायतबाट खटिएको टोलीलाई सहयोग गर्नेछ। दुई घन्टाको सवारी र तीन घन्टाको पैदलयात्रापछि घटनास्थलमा सीआईबीको टोली पुग्दा साँझ पर्नेछ।

तेजबहादुर कार्कीको परिवारका ६ जनाको आइतबार साँझ हत्या भएको थियो। धारिलो हतियार प्रयोग गरी दुई जना बालबालिकासहित ६ जनाको हत्या गरिएको थियो।

तेजबहादुरकी आमा पावर्ती कार्की, उनकी पत्नी मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो। तेजबहादुरका ९० वर्षीया बुवा बौद्धमान कार्की भने अचेत अवस्थामा फेला परेका थिए।

संखुवासभा प्रहरीका अनुसार मृतकको शव उठाइएको छ। अनुसन्धान सहयोगका लागि संघीय प्रहरी कार्यालयबाट दुई वटा कुकुरलाई पनि घटनास्थल पुराइएको छ। पिकु र लैलाले प्रहरी अनुसन्धानमा सहयोग गर्नेछन्। फरेन्सिक विज्ञ पनि घटनास्थल पुगेका छन्।

संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरिक्षक (एसपी) भिम दाहाल अनुसन्धानका लागि फरेन्सिक विज्ञसहित पिकु र लैला लिएर घटनास्थल पुगीसकेका थिए।

प्रतिक्रिया